बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा कारागारमा यातना दिएर दुई कैदीको हत्या भएको इन्सेकको निष्कर्ष

बिहीबार, ३२ साउन २०८०, १६ : ३७
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । इन्सेकले सङ्खुवासभा जिल्ला कारागारमा यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष निकालेको छ ।  स्थलगत अध्ययनबाट फर्किएपछि इन्सेकले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मृत्यु भएको थियो । 

स्थलगत अध्ययनमा पुगेको इन्सेकको टोलीले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेको छ । मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए । तर कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा नरहेको इन्सेकको भनाइ छ । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ । 

‘बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’ स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, ‘भित्रको प्रशासनले पनि कुटपिट गरेको देखिन्छ ।’ मृतकमाथि रड र लाठी पनि प्रहार भएको उनको भनाइ छ । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो भने रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाइएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ । 

बाहिर क्रुर यातनापछि अन्तिम अवस्थामा घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए । ‘बाहिर मरासन्न हुनेगरी कुटपिट गरेको र घटना डाइभर्ट गर्नका लागि भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’थापाले भने, ‘सुरुको मुख्य जिम्मेवार प्रहरीबाटै यातना दिएको देखिन्छ ।’ राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय राज्यले दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप