सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

मधेस प्रदेश : अर्थ मन्त्रालयको लेखा अधिकृतमा एउटै कर्मचारीलाई ६ वर्षसम्म जिम्मेवारी

शुक्रबार, ०१ भदौ २०८०, ०९ : २५
शुक्रबार, ०१ भदौ २०८०

जनकपुरधाम । प्रदेश सरकार स्थापनाकालदेखि नै मधेस प्रदेशको अर्थ मन्त्रालयमा लेखा अधिकृतको रुपमा विजय कुमार चौधरी कार्यरत छन् । ६ वर्षसम्म एकै ठाउँमा रहेकोमात्र होइन, उनले मधेस प्रदेश सरकारको निजामती कर्मचारीको सुविधा सम्बन्धी मापदण्ड विपरीत सेवा–सुविधा उपभोग गरिरहेका छन् ।

मधेश प्रदेश सरकारका निजामती कर्मचारीको सुविधा सम्बन्धी मापदण्डमा महाशाखा प्रमुख, कार्यालय प्रमुख, सचिव, प्रमुख सचिवले मात्र चारपाङ्ग्रे सवारी प्रयोग गर्न पाउने व्यवस्था रहे पनि उनले वर्षौंदेखि चारपाङ्ग्रे सवारी (हाल ज१झ४४१ नम्बर) प्रयोग गरिरहेका छन् ।

मधेस भवनभित्र रहेको आवासमा पनि उनले रजाइँ गरिरहेको पाइएको छ । कर्मचारीले आवासको सुविधा पाउँदा अधिकृत तहका एक जना कर्मचारीले एउटा कोठा प्रयोग गर्ने परिपाटी रहे पनि चौधरीले खाली रहेका अन्य कोठामा अन्यत्रै काम गर्ने आफ्ना आफन्तहरुलाई महिनौँदेखि राखी सुविधाको व्यापक दुरुपयोग गरिरहेका छन् ।

सामान्यतया निजामती कर्मचारीहरुको २ वर्षमा सरुवा हुने गर्दछ । तर लेखा अधिकृत चौधरी ६ वर्षसम्म एउटै अड्डामा बसिरहन सफल भएका छन् ।

अर्थ मन्त्रालयको खाली दुई वटा कोठा लेखाअधिकृत चौधरीले प्रयोग गरिरहेको मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले स्वीकारे । उनका अनुसार खाली रहेको कोठा तत्कालका लागि लेखाअधिकृत चौधरीले प्रयोग गरिरहेका हुन् । तर, मन्त्रालयमा सरुवा भई अन्य कर्मचारी आएको अवस्थामा चौधरीले प्रयोग गरिरहेको कोठा छोड्नुपर्ने उनको भनाइ छ ।

‘अस्तिसम्म ती कोठामा कर्मचारी बसिरहेका थिए,’ सचिव भट्टराईले भने, ‘केही दिन अगाडि दुईजना कर्मचारी सरुवा भएर गएपछि खाली भएको हो । मनपरी तथा सेवासुविधाको दुरुपयोग कसैले गर्न पाउँदैन ।’

मन्त्रालयकै एक जना कर्मचारीका अनुसार ती कोठामा जनकपुरधामस्थित भाटभटेनीमा काम गर्ने लेखाअधिकृत चौधरीको आफन्त बस्दै आएका छन् ।

उता चारपाङ्गे सवारीको लेखा अधिकृत चौधरीले नै प्रयोग गर्ने गरेको जिन्सी शाखाका कर्मचारीले पनि स्वीकारेका छन् । उनका अनुसार लेखा अधिकृत चौधरीले कार्यालय प्रयोजनमा उक्त चारपाङ्गे सवारी प्रयोग गर्ने गरेको बताएका छन् ।

अर्थ मन्त्रालयमा अहिलेसम्म दरबन्दीको तुलनामा ३० प्रतिशत कर्मचारीमात्रै रहेको सचिव भट्टराईले बताए । ७० प्रतिशत कर्मचारी मन्त्रालयमा खाली रहेको बताउँदै उनले काम गर्न धेरै अप्ठ्यारो भइरहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप