बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘पूर्वमाओवादीलाई एमालेमा काम गर्ने वातावरण छैन’

‘स्कुलिङ’ले उकुसमुकुस भएको छ तर बाहिरिने सोचेको छैन : मणि थापा
आइतबार, ०३ भदौ २०८०, १२ : ३०
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेकपा विघटनपछि नेकपा एमाले रोजेका पूर्वमाओवादी नेताहरू नेतृत्वको कार्यशैली र पहिचानको मुद्दाका कारण उकुसमुकुस अवस्थामा रहेका छन् । 

कार्यविभाजन भए पनि जिम्मेवारी नपाएको, नेतृत्वको कार्यशैली यथास्थितिवादी रहेको, माओवादी पृष्ठभूमिका नेताहरूलाई काम गर्ने वातावरण नभएको भन्दै उनीहरू असन्तुष्ट देखिएका हुन् । 

एमालेका उपाध्यक्षसमेत रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट, स्थायी कमिटी सदस्य मणि थापा, पोलिटब्युरो सदस्य गौरीशंकर चौधरी लगायत नेताहरू निष्क्रिय छन् । 

सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् । एमालेभित्र माओवादी पृष्ठभूमिका नेताहरूको भविष्य नरहेको भन्दै केही नेताहरूले विकल्प खोज्नेसम्म तयारी गरिरहेका छन् । 

२३ फागुन, २०७७ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा बदर गरेपछि बादलसहित ३४ जना केन्द्रीय नेताहरू एमालेमै बसेका थिए । गएको तीन तहको निर्वाचनमा पूर्वमाओवादीबाट अपेक्षाकृत परिणाम नआउँदा उनीहरू थप निराश देखिएका छन् । 

नेकपा विघटनसँगै एमालेमा बसेर निष्क्रिय रहेका स्थायी कमिटी सदस्य मणि थापासँग रातोपाटीका लागि गणेश पाण्डेले कुराकानी गरेका छन् : 

एमालेबाट तपाईंले सधैँलाई बिदा लिन खोज्नुभएको हो ? 

अहिले खासै निष्कर्षमा पुगिसकेको छैन । नेताहरूलाई जानकारी दिएर नै म बिदामा बसेको हुँ । अर्को मिटिङमा मेरो ‘पोजिसन’बारे जानकारी गराउँछु । त्यसपछि पार्टी काममा फर्किने वा नफर्किनेबारे निर्णय हुन्छ । 

पार्टीभित्र तपाईंको असहमति के हो ? 

असहमति खासै केही छैन तर काम गर्ने ‘स्पिरिट’ मिलेको छैन । 

हामीले नेकपाको निरन्तरता भएको नयाँ एमालेको रूपमा व्याख्या गर्ने र एमालेका साथीहरूले पुराना एमालेलाई स्थापित गर्ने खालका छन् । त्यसैले एमालेमा जोड र कोण मिलेन । 

‘स्पिरिट’ नमिलेको भनेको के हो ? 

हामी माओवादी ब्याकग्राउण्डबाट आएका हौँ । एमाले पुरानै संसदीय धङधङीमा छ । त्यसैले काम गर्ने ‘स्पिरिट’ मिलेको छैन ।  

माओवादी पृष्ठभूमिका नेताहरू एमालेमा बिजनेसविहीन देखिन्छन् किन ? उत्साह मरेको हो कि जिम्मेवारी नपाएको हो ? 

उत्साह मरेको पनि होइन, पार्टीले जिम्मेवारी दिएन भन्ने पनि होइन । काम गर्ने कार्यशैली र ‘स्कुलिङ’ हाम्रो र एमालेको फरक छ । एमालेको पुरै संसदीय ‘स्कुलिङ’ छ । संसदीय ‘स्कुलिङ’मा हामी अभ्यस्त भइसकेका छैनौँ । एमाले चुनावप्रति उदार देखिने पार्टी हो । हामी जनताको मुद्दा र सडकमा जनपरिचालनमा उदार देखिने खालको भयौँ । 

हामी माओवादी पृष्ठभूमिका भयौँ । एमालेले २०२८ सालदेखिको विषय उठ्न गर्छ । हामी त्यो असान्दर्भिक देख्छौँ । संसदीय राजनीति संस्कार पनि एमालेमा देखिएन । एमालेको स्कुलिङ परिवर्तनकारी खालको छैन । अग्रगामी चरित्रको छैन । यथास्थितिवादी खालको छ । हामीले चाहेर पनि त्यहाँ ‘पर्फमेन्स’ देखाउन गाह्रो छ । 

हामीले नेकपाको निरन्तरता भएको नयाँ एमालेको रूपमा व्याख्या गर्ने र एमालेका साथीहरूले पुराना एमालेलाई स्थापित गर्ने खालका छन् । त्यसैले एमालेमा जोड र कोण मिलेन । 

सार्वजनिक कार्यक्रममा अध्यक्ष (तीन संस्थापक नेताबाहेक) को मात्र फोटो राख्ने निर्णय कस्तो लागेको छ ? 

ठीकै हो । सार्वजनिक कार्यक्रममा माला खादा, भद्दा मञ्च व्यवस्थापन गर्नुभन्दा छरितो बनाउनु राम्रै हो । जनतामा पनि विरोध भएको थियो । यो ठीकै निर्णय गरेको हो । अध्यक्षको फोटो राख्ने विषय जो आउँछ उसकै राख्ने चलन छ । कम्युनिस्ट पार्टीमा यो कुनै नौलो विषय होइन । 

एमालेमासँगै गएका बादल, लेखराज लगायत नेताहरूसँग पछिल्लो समय भेटघाट र छलफल भएको छ कि छैन ? 

अहिले त्यस्तो सम्पर्क भएको छैन । सबै आ–आफ्नै ढंगले अगाडि बढिरहेका छौँ । 

माओवादी केन्द्र वा विप्लवतिर जाने तयारीमा हो ? 

अहिले त्यस्तो केही सोचेका छैनौँ । मेरो मात्र पनि कुरा भएन । पहिला एमालेमा भएका माओवादी नेताहरूसँग छलफल गर्नुपर्छ । उहाँहरूसँग परामर्श गरेर नै बिदामा बसेको हो । माओवादी आन्दोलनबाट आएका साथीहरूसँग पनि परामर्श गर्नुपर्छ । अहिले नै पार्टीबाट बाहिरिने सोच छैन । 

कुनै ठाउँमा माओवादीलाई ‘फस्ट म्यान’ दिए पनि पुराना एमालेको दोस्रो तहका नेतासँग सम्झौता नगरी काम नै गर्न सकिँदैन । त्यो एक प्रकारले स्वभाविक पनि हो ।

माओवादी पृष्ठभूमिका नेताहरू एमालेमा भविष्य छैन भनेर चिन्तित छन् भन्ने चर्चा छ नि ? 

खासगरी माओवादी ‘लिगेसी’, विचार, सिद्धान्त, कामको ‘स्पिरिट’, हाम्रो संस्कृति, पहिचान जसरी ‘एडजस्टमेन्ट’ हुनुपर्ने हो, त्यो हुन सकेको छैन । ‘स्कुलिङ’ले उकुसमुकुस भएको छ । 

पद छ, कार्यविभाजन भएको छ तर जिम्मेवारी पाएको छैनन् भन्ने छ नि ?

कार्यविभाजन छ । जिम्मेवारी पाएको छैन । पुराना एमालेका ‘ग्रासरूट’ तहका कार्यकर्ताले एमालेका ‘सेकेण्ड म्यान’ भयो भने उसकै पछि लाग्छन् । कुनै ठाउँमा माओवादीलाई ‘फस्ट म्यान’ दिए पनि पुराना एमालेको दोस्रो तहका नेतासँग सम्झौता नगरी काम नै गर्न सकिँदैन । त्यो एक प्रकारले स्वभाविक पनि हो । उनीहरूको लामो समय उठबस छ । चिरपरिचित छ । उनीहरूलाई काम गर्न पनि सजिलो छ । त्यसैले व्यवहारिक रूपमा काम गर्न हामीलाई समस्याहरू छन् । 

विप्लवको पार्टीतिर जाने सम्भावना कति छ ? 

त्यस्तो केही भएको छैन । उनीहरूले सम्पर्क गरेका पनि छैनन् । सम्भावना पनि छैन । 

यसको मतलब नयाँ पार्टी खोल्ने तयारी हो ? 

त्यतातिर पनि अहिले केही सोचेको छैन । पार्टीमाथि पार्टी खोलेर केही अर्थ छैन ।  

त्यसो भए अहिले के गरिरहनुभएको छ ? 

अहिले गीतसंगीतमा काम गरिरहेको छु । बाँकी समय अध्ययन तथा लेखनमा व्यस्त छु । खासगरी जनयुद्धसम्बन्धी लेख रचनाहरू पार्टीको कामले छरपस्ट भएका थिए । त्यसलाई लिपिबद्ध गर्दैछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप