शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस आन्दोलनमा मारिएकाहरूलाई शहीद घोषणा नगरेकोमा ठाकुर असन्तुष्ट

शनिबार, ०९ भदौ २०८०, १७ : १३
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरूलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ मधेस आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरूलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

अध्यक्ष ठाकुरले मधेस आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराए । उनले सरकारले सो मुद्दा फिर्ता लिने गरी कानुन निर्माणको काम अघि बढाएको जानकारी दिए पनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गरे ।

‘मधेस आन्दोलनका दौरानको अधिकारको लागि र पहिचानसहितको संघको लागि जुन संघर्ष गरेको थियो, आन्दोलन गरेको थियो । त्यस दौरान हाम्रा धेरै साथीहरू मारिए । अहिले पनि कतिपय जेलमा छन् । कतिपयलाई मुद्दा चलिरहेको छ । हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरूलाई छाड्ने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए । तिनीहरूलाई शहीदसम्म घोषणा गरिएको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘सुन्छु–कानुन संशोधनको लागि संसद्मा आएको छ । र, अहिले पास भएको छैन त्यो । त्यसपछि यही राजनीतिक कारणले जो जेलमा परिरहेका छन्, मुद्दा चलिरहेको छ । त्यसलाई फिर्ता लिने जुन सम्झौता भएको छ । त्यो विधेयक पास भएपछि गर्न सकिन्छ । यो भन्दा अगाडि जो सानातिना सजाय थियो, त्यो चाहिँ छुटकारा भएको छ । र, दश लाखभन्दा कम दण्डजरिवाना थियो । त्यो पनि मिनाहा भएको छ ।’

कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनलाई अझै तीव्र गतिमा अघि बढाउने सङ्कल्प पार्टीले लिएको बताए । सोही अवसरमा अध्यक्ष ठाकुरले पार्टीको झन्डोत्तोलन गरेका थिए । नेता, कार्यकर्ताहरूले पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसर पारेर पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप