शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन दलका नेता भन्छन्, ‘सरकारको आयुमा ग्रहदशा लागेको छैन’

शनिबार, ०९ भदौ २०८०, १८ : ०३
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् । 

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको समझदारी बनेको छ । सुरुको समयमा प्रचण्डजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भनेर गर्ने भनेको सुनेको छु । अहिलेसम्म सरकारका बारेमा जे÷जति कुरा आएका छन्, यी विषयहरू सरकार ढल्नुपर्ने र सरकारको समीकरण परिवर्तन गर्नुपर्ने अवस्थाको छैन ।’

Shyam ghimire

नेता घिमिरेले सामान्यतया गठबन्धनभित्र समस्याहरू आइरहने सम्झाए । तर, ती समस्याहरू समाधान गर्दै जाने नै अहिलेको आवश्यकता भएको उनको तर्क छ । उनले भने,‘सामान्यतया गठबन्धनको सरकारभित्र समस्या आइरहन्छन् । समस्या समाधान गर्दै जाने हो । अहिले पनि समस्या आएका छन्, देखिएका छन् । समस्याको निराकरण हुँदै अघि बढ्ने हो । तत्कालको लागि सरकारको भविष्यमाथि कुनै खतरा छैन । तत्काल सरकार परिवर्तन हुँदैन ।’

उनले ललिता निवास काण्डको बारेमा आफ्नो धारणा राख्दै अख्तियारले ललिता निवास प्रकरणबारे छानबिन गरेर मुद्दा अभियोजन गरिसकेको विषयमा अहिले सरकार किन प्रवेश गर्नुपर्‍यो ? भन्दै प्रश्न गरे । उनले भने,‘अख्तियारले छानबिन गरेर मुद्दा अभियोजन गरेको विषयमा अहिले सरकार किन प्रवेश गर्‍यो ? मैले बुझेको छैन । सीआईबीले पुनः छानबिन गरेर त्यही अख्तियारकै रिपोर्टलाई जस्ताको त्यस्तै (लगभग) प्रस्तुत गर्नुपर्ने थियो भने अहिले यसमा किन छानबिन गर्नुपर्दथ्यो र ? केही मान्छेहरूलाई केही दिनसम्म किन थुन्नुपर्‍यो ?’

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य दिलु पन्तले पनि सरकारले सुशासनको पक्षमा र समृद्धिको लागि कटिबद्ध भएर काम गरेको दाबी गरेकी छिन् । उनले पार्टीले सरकारको सुशासनको एजेन्डामा दरिलो साथ दिइरहेको पनि स्पष्ट पारिन् । 

Dilu Panta

उनले भनिन्–‘अहिले हाम्रो पार्टीको केन्द्रीय कमिटीको छैटौँ पूर्ण बैठक भर्खरै सम्पन्न भैसकेको छ । भ्रष्टाचारलाई समूल अन्त्य गर्नको निम्ति हामीले सडकदेखि सदनसम्म आवाज बुलन्द बनाउने भनेका छौँ । सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कारबाहीमा सघाउने भनेका छौँ । सरकारले गरेको छानबिनलाई साथ दिने भनेका छौँ । तर, सरकारले छानबिन लुकाउन खोजेमा हामी विरोध गर्दछौँ । अहिले सरकारले ठिक ढङ्गले काम गरेको छ । यसमा हाम्रो पूरा साथ र समर्थन छ।’

नेतृ पन्तले अहिले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको पनि दाबी गरिन् । उनले भनिन्–‘हाम्रो पार्टीभित्र कुनै विवाद छैन । हामीले समृद्ध नेपाल निर्माणको लागि विद्रोहसहित नेकपा (एकीकृत समाजवादी) बनाएका हौँ । हामी समृद्ध नेपालको लागि कटिबद्ध छौँ । हाम्रो विद्रोह पुष्टि हुँदैछ । एउटा जीवन्त पार्टीभित्र बहस हुन्छ । छलफल हुन्छ । अनि अहिले उठेका विषयलाई विवाद मान्नुहुँदैन ।’

Keshav Jha

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारे । उनले भने,‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिभ रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्त्वपूर्ण कदम चालेको छ। यसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ । आशा जगाएको छ । जसरी अहिले सरकार कडाइका साथ अघि बढेको छ, गठबन्धन एक ढिक्का भएको छ। सरकार अलिकति पनि दायाँबायाँ हुँदैन । कसैले शङ्का गर्ने ठाउँ छैन । सरकारको आयुमा ग्रह र दशा लागेको स्थिति छैन । सरकार राम्रोसँग अघि बढ्छ ।’

नेता झाले सुन काण्ड र भ्रष्टाचारको सन्दर्भमा आफ्नो दल भ्रष्टाचार गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको बताए । उनले भने,‘हामी गठबन्धनमा पनि छौँ । भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिनुहुँदैन । भ्रष्टाचार किन हुन्छ ? भन्ने कुरा पनि गम्भीर विषय हो । अब भ्रष्टाचार नहुने वातावरण सिर्जना गर्नुपर्छ । सुन काण्डको सन्दर्भमा जसरी अहिले अपराधीलाई समात्ने काम भएको छ । अपराधीहरूलाई कानुनी दायरामा ल्याउने कामको समर्थन गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप