आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा पोथीबाघ

आइतबार, १० भदौ २०८०, २२ : १०
आइतबार, १० भदौ २०८०

जानकी  । मानिसलाई  आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि  निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । 

उक्त पोथीबाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई आक्रमण गरी मारेको थियो । अधिकृत शाहका अनुसार नियन्त्रणमा लिइएको उक्त पोथीबाघ १२ वर्ष उमेरको छ । दुई सय ६८ सेन्टिमिटर लम्बाइ रहेको पोथीबाघको उचाइ ९८ सेन्टिमिटर छ भने छातिको गोलाई ९४ सेन्टिमिटर भएको उनले जानकारी दिए । 

हाल बाघको स्वास्थ्य अवस्था पूर्णरुपमा राम्रो रहेको शाहको भनाइ छ । उनका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दीपेन्द्र खड्का, हिरेप्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् । 

गेम स्काउट दीपेन्द्र खड्का अनुसार बाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैँसीको मासु खुवाउने गरिएको छ । “भोकाएको अवस्था बुझेर तीनदेखि पाँच दिनको फरकमा आहारका रुपमा भैँसीको मासु दिने गरेका छौँं”, उनले भने । बाघ बस्ने ठाउँको आवश्यकताका आधारमा सरसफाइ पनि भइरहेको खड्काले जानकारी दिए ।

उनले भने, “बाघलाई तीनवटा ब्लकमा राखिएको छ । तीनमध्ये एउटामा बाघलाई थुनेर राख्छौँ र अन्य दुई वटा ब्लक सफा गर्छौँ । सफा गरिएको ब्लकमा मासु राखिदिएर बाघले मासु खान गएको मौका छोपी फेरि अर्को ब्लक सफा गर्छौँ ।”

बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए । उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

वन्यजन्तुका लागि बनाइएको उक्त ‘होल्डिङ केज’को क्षेत्रफल एक सय ८६ मिटर रहेको गेम स्काउट हेमराज रोकायले जानकारी दिए । “उक्त क्षेत्रफलभित्र तीन वटा ब्लकमा मांसहारी वन्यजन्तु संरक्षणका लागि घर बनाइएको छ”, उनले भने, “सोही घरमा पोथीबाघलाई संरक्षणका लागि राखिएको छ ।” 

खैरी चेक पोष्टमा रहेको उक्त क्षेत्रको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतको शिवखोला गुल्मको टोलीले गरिरहेको गणपति अशोक खड्काले जानकारी दिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप