बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाल सुधार गृहको लापरबाही र प्रशासनको उदासीनताका कारण भक्तपुर घटना भएको इन्सेकको निष्कर्ष

शुक्रबार, १५ भदौ २०८०, १६ : ०६
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण भएको इन्सेकले जनएको छ ।

इन्सेकको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले भदौ १५ गते जारी गरेको प्रतिवेदनमा सो कुरा औँल्याइएको हो ।

सुधार गृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । ‘होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको र ०८० भदौ ३ गते ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए,’ प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा मृत्यु भएको थियो । ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । 

बालकलाई नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लग्दै गर्दा बाटोमा नै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

‘बाल सुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको आन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनु पर्ने र सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्नु आवश्यक छ । बाल सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक छ,’ प्रतिवेदनमा उल्लेख छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप