सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सीटीईभीटीको लापरबाही : दलित कोटामा बाहुन र मुस्लिम कोटामा पासवानलाई छात्रवृत्ति !

त्रुटिपूर्ण नतिजा प्रकाशन भएकोमा क्षमा माग्दै स्थगनको सूचना जारी
मङ्गलबार, १९ भदौ २०८०, २० : ०६
मङ्गलबार, १९ भदौ २०८०

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी) मधेस प्रदेशले छात्रवृत्तिमा गम्भीर लापरबाही गरेको घटना बाहिरिएको छ । परिषद्ले सञ्चालन गरेको निःशुल्क छात्रवृत्ति तर्फको परीक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको भेटिएको हो ।

प्रकाशित नतिजामा कोटामै नपर्ने झा र यादवलाई दलिततर्फ निःशुल्क छात्रवृत्ति कोटामा नतिजा सार्वजनिक गरिएको छ भने मुस्लिम कोटामा पासवानलाई सिफारिस गरिएको छ । 

त्यस्तै, मण्डल थर भएका व्यक्तिको नामावली दलिततर्फ राखिएको छ । यद्यपि, एउटा मण्डल समुदाय भित्रको जाति दलित र मण्डल समुदायभित्रकै अर्को जनजातिमा पर्ने गर्छ । तर, सो दलित कोटातर्फ परेका मण्डल भने दलित नभई जनजाति रहेको स्रोतको दाबी छ ।

सोमवार परिषद्ले प्रकाशित गरेको नतिजामा दलित कोटामा डब्लु कुमार यादव र कार्तिकेश झाको नाम सार्वजनिक गरेको छ । त्यस्तै, मुस्लिम मोटामा विकास पासवानको नाम उल्लेख छ । 

डिप्लोमा सिभिल इन्जिनियरिङ  तर्फको नतिजामा डब्लु, कार्तिकेश र विकासको नतिजा त्रुटिपूर्ण आएको हो । 

यस्तै, डिप्लोमा जियोमेट्रिकस इन्जिनियरिङ तर्फको नतिजामा राजाबाबु यादवलाई मधेसी दलित कोटामा उत्तीर्णमा नाम राखेको छ । सोही कोटाको वैकल्पिकमा मधेसी दलित सिकेन्द्र कुमार महरालाई वैकल्पिक सूचीमा राखेको छ । यसै संकायको सबै छात्रलाई छात्रातर्फको पास लिस्टमा राखेर परिषद्ले नतिजा प्रकाशन गरेको छ ।

12

परिषद्ले सार्वजनिक गरेको दर्जनौँ नतिजामा जनजाति मण्डललाई पनि दलित कोटामा राखिएको छ भने दलितलाई जनजातिमा राखेर वैकल्पिक सूचीमा राखेको केही विद्यार्थीहरुको गुनासो छ ।

समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव बलिराम मण्डलले परिषद्का निर्देशकले आर्थिक चलखेल गरेर नतिजा त्रुटिपूर्ण बनाएको आरोप लगाएका छन् । उनले परिषद्कै कर्मचारी तथा केही बिचौलियाहरुले एकजना विद्यार्थीबाट संकाय हेरी १ देखि ३ लाखसम्म रुपैया लिएर नतिजा यस्तो बनाएको उनको आरोप छ ।

यस्तै जनजाति मण्डललाई दलितमा, दलितलाई जनजातिमा, साह र यादवलाई खस आर्यमा लगायतका कोटाहरुमा हेरफेर गरी झुक्क्याउने गरी नतिजा प्रकाशन गरेको उनले बताएका छन् ।

नतिजा त्रुटिपूर्ण प्रकाशन भएको व्यापक विरोध आएपछि उक्त नतिजा परिषद्ले हाल स्थगन गरेको छ । 

परिषद्ले आफ्नो वेबसाईटमार्फत प्रकाशन गरेको सो नतिजा अहिले डिलिट नै गरिसकेको छ । परिषद् मधेस प्रदेशका निर्देशक अरविन्दकुमार चौधरी भन्छन्, ‘त्रुटिपूर्ण नतिजा स्थगन गरिसकेका छौँ । यसलाई राम्ररी केलाएर सच्चाएर पुनः प्रकाशन गर्नेछौँ ।’ उनले त्रुटिपूर्ण नतिजा प्रकाशन भएकोमा क्षमा समेत मागेका छन् । 

परिषद्ले गत २०८० भदौ २ गते निःशुल्क छात्रवृत्तिको लागि प्रवेशिका परीक्षा लिएको थियो, जसमा ४ हजार १८ जना विद्यार्थी  सहभागी थिए ।

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप