आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
डब्लुएचओ क्षेत्रीय निर्देशकको निर्वाचन

दोधारमा भारत : नेपाल र बंगलादेशमध्ये कसलाई चुन्ने ?

बिहीबार, २१ भदौ २०८०, १२ : १३
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । भारतका लागि छिमेकी देश नेपाल र बंगलादेशमध्ये कसलाई चुन्ने भन्ने धर्मसंकटको स्थिति पैदा भएको छ । नेपाल र बंगलादेशले विश्व स्वास्थ्य संगठनमा क्षेत्रीय निर्देशक पदमा आ–आफ्नो उम्मेदवार उठाउने फैसला गरेको छ । भारतमा यसै हप्ता हुने जी–२० समिटमा अलगै यस चुनावबारे छलफल हुन सक्ने बताइएको छ ।

अंग्रेजी पत्रिका ‘द हिन्दु’ ले यसबारे एक रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टअनुसार डब्लूएचओको शीर्ष पदका लागि बंगलादेशबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद र नेपालको तर्फबाट शम्भुप्रसाद आचार्य उम्मेदवार बन्न लागेका छन् ।

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय निर्देशक पदको चुनाव नयाँ दिल्लीमा ३० अक्टोबरदेखि २ नोभेम्बरबीच हुने भनिएको छ । यसमा ११ देशले मतदान गर्नेछन् । मतदान गर्ने देशमा बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, नेपाल, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लेस्ते छन् ।

सन् २०१४ देखि यस पदमा भारतकी पुनम खेत्रपाल रहेकी थिइन् ।

के गर्ला भारतले ?
द हिन्दुले भारत सरकारका अधिकारीहरूसँग भारतले के गर्छ भनेर प्रश्न गरेको थियो । यसको जवाफमा भारतले यसबारे निर्णय लिन बाँकी रहेको उनीहरूको भनाई थियो । यद्यपि, अधिकारीहरूले भारत र बंगलादेशको सम्बन्धलाई हेर्दै बंगलादेशी उम्मेदवार साइमा वाजेदको पल्ला भारी रहेको उनीहरूले सङ्केत गरेका छन् । यसको एक कारण प्रधानमन्त्री हसिना कै छोरी मैदानमा उत्रनु पनि एक हो ।

संयुक्त राष्ट्रको प्रणाली अन्तर्गत हुने कुनै पनि चुनावमा विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया यानि एसआईएआरओको सदस्य देशहरूको बंगलादेश र नेपालसँग भएको सम्झौता र कुराकानीमा पनि धेरै कुरा निर्भर हुने उनीहरूले बताएका छन् । यस्तो चुनावमा पारस्परिक सम्बन्धको आधारमा पनि भोटिङ गरिन्छ । अर्थात्, यदि कुनै देशले अर्को देशलाई समर्थन गर्दैछ भने उसले त्यसको बदलामा संयुक्त राष्ट्रमा कुनै अर्को मुद्दामा उक्त देशको समर्थन माग्न सक्छ ।

शम्भुप्रसाद आचार्य हाल विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेसियस अन्तरगत आउने कन्ट्री स्ट्राटेजी एन्ड सपोर्टको निर्देशक हुन् र उनी जेनेभा हेडक्वार्टरमा नियुक्त छन् । आचार्यको अनुभव वर्तमान पदका लागि राम्रो मानिएको छ ।

उता साइमा वाजेद मनोवैज्ञानिक हुन् र उनी बंगलादेशको सरकारको सल्लाहकार पनि हुन् । उनी उच्चस्तरीय कूटनीतिक अभियानको हिस्सा रहँदै आएकी छन् । द हिन्दुले स्रोतको हवाला दिँदै साइमा वाजेद आफ्नी आमा तथा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग जी–२० सम्मेलनमा भाग लिन भारत आउन सक्छिन् ।

tttt

गेब्रिसियसको समर्थन कता ? 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेसियस जी–२० सम्मेलनका लागि दिल्ली आउँदैछन् । उनीसँग संगठनका शीर्ष अधिकारीहरु पनि हुनेछन् । उनले आफ्नो सहकर्मी आचार्यको साथ दिने अनुमान गरिएको छ । यस्तोमा दुवै पक्षले आ–आफ्ना पक्षका उम्मेदवारहरूका लागि एसईएआरओ देशहरूलाई मनाउने प्रयास गर्नेछन् । साथै नेपाल र बंगलादेश दुवै पक्षको अहम् भूमिका निभाउने देशहरूलाई प्रभावित गर्ने प्रयास रहनेछ ।

साइमा वाजेद बुधबार आसियान समिटमा हिस्सा लिन बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग इन्डिोनेसिया पुगेकी छन् । जकार्तामा उनले इन्डोनेसियाका विदेश मन्त्री रेटनो मर्सुर्दीसँग भेटघाट गरेकी छन् । वाजेदले म्यानमार र थाइल्याण्डको समर्थन पाउने प्रयास गरिरहेकी छन् ।

नेपाल सरकार पनि सक्रिय

बंगलादेशले आफ्नो उम्मेदवार जिताउन सक्रिय भइरहेका बेला नेपाल पनि पछि भने परेको छैन । रिपोर्टमा नेपालले पनि आफ्नो अभियान तीव्र बनाएको छ । हालै एसईएआरओ सदस्यका राजदूतको एक बैठक काठमाडौँमा आयोजना भएको थियो ।

कूटनीतिक सूत्रको हवाला दिँदै द हिन्दुले यस बैठकमा आचार्यले एक प्रजेन्टेसन दिएका थिए र स्वास्थ्य अधिकारीका रूपमा आफ्नो करियरलाई हेर्दै आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।

आचार्य विगत २४ वर्षदेखि जेनेभामा विश्व स्वास्थ्य संगठनको मुख्यालयमा सेवा दिइरहेका छन् । नेपाल सरकार यसका लागि सक्रिय रहेको संयुक्त राष्ट्रमा समर्थनको अपेक्षा गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप