शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महासंघद्वारा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

अध्ययन नसकिएसम्म लाइन नकाट्न प्राधिकरणलाई निर्देशन
सोमबार, २५ भदौ २०८०, १२ : ३१
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगहरूको लाइन नकाट्न निर्देशन दिएका छन् । आज उद्योगीसँगको भेटका क्रममा प्रधानमन्त्रीले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले लाइन नकाट्न निर्देशन दिएका हुन् ।

उनले नेपाल विद्युत् प्राधिकरणलाई लाइन नकाट्न निर्देशन दिँदै यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न भनेका हुन् । प्राधिकरणले बिजुली काट्ने भनेपछि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् । उनले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्याउने कुरामा आफूले पहल गर्ने पनि बताए ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र  ट्रङ्क लाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो ।

महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भइरहेको उद्योग व्यवसाय जोगाउन विशेष पहल गर्न पनि प्रधानमन्त्री प्रचण्ड समक्ष अनुरोध गरेको छ । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासङ्घ अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप