बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

डाक्टर कुटपिट घटना : सेवा प्रवाह बन्द, संघको निर्देशन कुर्दै चिकित्सक

शुक्रबार, २९ भदौ २०८०, २१ : १४
शुक्रबार, २९ भदौ २०८०

मकवानपुर । चिकित्सक कुटपिटको विरोधमा शुक्रबार दिनभर हेटौंडाका स्वास्थ्य संस्था ठप्प भए । हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

डाक्टर कुटपिटको घटनामा दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरुले स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरे । यसबाट मकवानपुरका आम नागरिकहरु समस्यामा परेका थिए । उपचारका लागि ग्रामीण भेगबाट हेटौंडा झरेका नागरिकहरुले उपचारसमेत पाउन सकेनन् ।

हेटौडा अस्पतालबाट मात्रै दैनिक १ हजार ५ सय जनाको हाराहारीमा बिरामीले सेवा लिँदै आएका छन् । सुरक्षाको प्रत्याभूति नभएको भन्दै चिकित्सकहरुले अस्पतालका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका थिए ।

हेटौंडाका अस्पतालको सेवा प्रवाह सूचारु गर्ने विषयमा मकवानपुरका चिकित्सकहरु अनिर्णीत छन् । उनीहरु नेपाल चिकित्सक संघको निर्देशन कुरेर बसेका छन् ।

हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार सेवा प्रवाहका विषयमा चिकित्सक संघको निर्णय आउनु पर्नेछ । घटनाका विषयमा सम्पूर्ण जिम्मेवारी संघले लिएको भन्दै सेवा प्रवाहका विषयमा पनि संघको निर्णय नै अन्तिम हुने उनले बताए ।

प्रहरीले कारबाही प्रक्रिया द्रुत र सहज बनाउन नसकेको खण्डमा सेवा प्रवाहमा चिकित्सकहरु फर्किन नसक्ने सापकोटाले बताए । प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेमात्र चिकित्सकहरु काममा फर्किने वातावरण बन्ने उनको भनाइ छ ।

प्रहरी प्रशासनले चिकित्सकलाई सहज र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गरिदिनुपर्ने उनले बताए । चिकित्सक कुटपिटको घटनामा संलग्न भएकाहरुलाई प्रहरी जोगाउने वा हाल पक्राउ परेका ४ जनामा नै सबै विषय सीमित राख्ने हो भने थप समस्या हुने उनले प्रस्ट पारे ।

आन्दोलनको स्वरुप परिवर्तन गर्न प्रमुख जिल्ला अधिकारीको आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । उनले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सहज बनाउन चिकित्सकहरुले अन्दोलनको स्वरुप परिवर्तनतर्फ ध्यान दिनु पर्ने बताए ।

प्रशासनले चिकित्सकको सुरक्षा र घटनाको विषयलाई गम्भीर रुपमा लिएर काम गरिरहेकाले उच्च मनोबलसहित फरक शैलीबाट अन्दोलनलाई अघि बढाउन उनले आग्रह गरे । स्वास्थ्य सेवालाई बन्द गरेर असहज परिस्थिति निर्माण हुनबाट जिल्लालाई जोगाउनु पर्ने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सेढाईंले प्रहरी प्रशासन चिकित्सकमाथि भएको घटना र सुरक्षाको विषयमा जिम्मेवार भएर अघि बढेको बताए । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरीका सम्पूर्ण संयन्त्र परिचालित भएको र सो विषयमा आवश्यक समन्वय गर्न प्रशासन पनि तयार रहेकाले चिकित्कसहरुलाई निश्चिन्त रहन उनले आग्रह गरे ।

४ जनालाई ३ दिन म्याद थप

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरेको छ ।

हेटौंडामा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिटको घटनामा बिहीबार पक्राउ परेका ४ जनालाई थप अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार घटनामा संलग्न भएकाहरुलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको बयान लिने काम भइरहेको प्रवक्ता भण्डारीले बताए ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो । सञ्चो अस्पतालमा कार्यरत रहेको अवस्थामा हेटौंडा पदमपोखरीको एउटा समूहले बुधबार डा. विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरेको थियो ।

गत साउन २५ गते डेंगु संक्रमणबाट मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको विषयलाई लिएर डाक्टरहरु माथि हातपात भएको हो । डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका परिवारले दुई जना डाक्टरलाई हातपात गरी घाइते बनाएका हुन् ।

प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसअघि उनी हेटौंडा–१ मा रहेको सञ्चो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । घरमै आराम गर्ने भनेर गएका प्रधानलाई थप समस्या भएपछि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

२ जना विरुद्ध किटानी जाहेरी

चिकित्सकलाई कुट्ने २ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ । चिकित्सकमाथि भएको कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । उनले कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।

७९ जना डाक्टरको सामूहिक राजीनामा

घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालका कार्यरत ७९ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन् । आफ्ना सहकर्मीलाई आक्रमण र कुटपिट गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने र सुरक्षित तवरले काम गर्ने वातावरण बनाउनुपर्ने मागसहित अस्पतालमा कार्यरत ७९ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन् ।

मृतकका परिवारका सदस्यहरुलाई मात्र नभई कुटपिटको घटनामा संलग्न अन्य सबैलाई पक्राउ गर्नुपर्ने डाक्टरहरुको माग छ । डाक्टरलाई कुटपिट गर्ने युवाहरुले प्रहरीकै अगाडि अन्य डाक्टरहरुलाई समेत ज्यान लिने भन्दै धम्क्याएपछि चिकित्सकहरु आन्दोलित बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप