सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशलाई पनि संविधान सम्मत अधिकार सम्पन्न बनाउनु पर्दछ : उपराष्ट्रपति यादव

बुधबार, ०३ असोज २०८०, ०७ : ४०
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।  
    
“सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन्, “हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ आजकै दिन (असोज ३ गते)जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”
    
उनले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशीतालाई सबैले पालना गर्नुपर्ने बताए । संविधान दिवसका अवसरमा उनले सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन ध्यानाकर्षणसमेत गराए ।  
     
“सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यानाकृष्ट हुने विश्वास लिएको छु”, सन्देशमा उनले उल्लेख गरेका छन् ।  
    
उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नका लागि सरोकारवाला सबैलाई आह्वान गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षका क्रममा ज्यान गुमाउनुभएका सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाप्रति सम्मानसमेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप