मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक उपार्जनमा युवाहरूलाई जोड्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल

शुक्रबार, ०५ असोज २०८०, १६ : २२
शुक्रबार, ०५ असोज २०८०

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक उपार्जनमा युवाहरूलाई जोड्नु पर्ने बताएका छन् । बागमती प्रदेश युवा परिषदको आयोजनामा आज हेटौँडामा प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले युवाहरूलाई कृषि उत्पादनमा जोड्दै आर्थिक विकासमा अग्रसर गराउनु पर्ने बताए ।

कृषि क्षेत्रमा युवाहरुको संलग्नता बढाएर आर्थिक उपार्जनमा जोड्ने सरकारको तयारी रहेको उनले बताए । युवाहरूलाई कृषि क्षेत्रमा तालिम र रोजगारी सृजनामा सरकारको जोड रहेको उनको भनाई छ । उनका अनुसार हरेक स्थानीय तहमा तालिम दिएर युवालाई कृषि उत्पादनमा जोड्ने सरकारको योजना रहेको छ ।

युवाहरूलाई आवश्यक तालिम दिएर स्वरोजगार बनाउने र रोजगारीमा जोड्दै युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने पहल सरकारबाट भइरहेको उनले बताए  । युवाहरूलाई स्वदेशमा नै टिकाउने आधुनिक कृषि प्रणालीको विकास गर्दै युवाहरूलाई सहभागी गराउन सरकारले योजना बनाइरहेको उनको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार सक्रिय रहेको बताए ।

‘प्रदेशलाई खाद्यान्न तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन समुदायमा आधारित कृषि उत्पादनमा जोडने तयारी भइरहेको छ । उत्पादनमा आधारित भएर अनुदान दिने र खाद्यान्नमा आत्म निर्भर बनाउने अभियानमा सरकार अघि बढेको छ ।’ उनले भने, ‘कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी आर्थिक सहायता उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप