आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

मङ्गलबार, ०९ असोज २०८०, २० : ४१
मङ्गलबार, ०९ असोज २०८०

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथाशक्य चाँडो शिखर वार्ता हुने भएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो ।

सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्याशित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो । 

टोकियो, वासिङ्टन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकहरूले बताएका छन् । पछिल्लो समय अमेरिकासँगको बिग्रँदो सम्बन्धलाई लिएर चीन चिन्तित छ । 

“चीन, जापान र दक्षिण कोरियाबीचको सहकार्यलाई तीन पक्षको साझा हितमा निरन्तरता दिन सहमति भएको छ,” विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा मङ्गलबार भने । 

प्रवक्ता वाङका अनुसार तीनवटै  देशले आ–आफ्ना विदेश मन्त्रीहको बैठक अर्को केही महिना आयोजना गरेर  त्यसपछि उपयुक्त समयमा जति सक्दो चाँडो शीर्ष नेताहरूको बैठक गर्न बेइजिङ, सोल र टोकियो सहमत भएका छन् । 

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि तीनवटै देशका कूटनीतिज्ञहरू शीघ्र त्रिपक्षीय शिखर बैठक आयोजना गर्न तथा त्यसको तयारीमा विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न सहमत भएका बताएको छ । पछिल्लो पटक त्रिदेशीय शिखर सम्मेलन सन् २०१९ मा भएको थियो ।- (रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप