बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
त्रिपुरेश्वर घटना

‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास

बिहीबार, २५ असार २०८३, १९ : ११
बिहीबार, २५ असार २०८३

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै आएका छन् । 

उनी पठाओ राइडर हुन् । बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा उनी ‘राइड’ गरेर जीविकोपार्जन गर्दै आएका थिए । दिउँसो १ बजेर ४५ मिनेटमा गणेशले पार्किङ गरेर राखेको बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलको चक्कामा काठमाडौँ महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाए । 

त्यसपछि गणेश र महानगरपालिबाट खटिएका प्रहरीसँग उनको विवाद भएको प्रत्यक्षदर्शीहरू बताउँछन् । गणेशले  ह्वील लक खोलिदिन आग्रह गरे । तर, महानगर प्रहरीले जरिवाना रकम बुझाएपछि मात्रै ह्वील लक निकालिदिने जिकिर गरे । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार त्यसपछि गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए । अनि, आगो लगाए ।

मुल सडकसँगै मानिसले आगो लगाएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी वृत्त कालीमाटीबाट खटिएका प्रहरी हवल्दार विकाश बुढाथोकीले उनलाई बा.२ ज १५८० नम्बरको ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍याए । उनको अहिले आईसीयुमा राखेर उपचार भइरहेको छ ।

आत्मदाह प्रयास गर्नुको कारण ‘महानगरपालिका बाट खटिएको प्रहरी र युवकबिचको विवाद’ रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘ह्वील लक गरेपछिको विवाद नै आत्मदाह प्रयासको मुख्य कारण देखिन्छ ।’

गणेश बिहीबार बिहान ५ बजे बालाजु स्थित दाइको डेराबाट राइड सेयरिङ एपमार्फत राइड गर्न निस्केका थिए । पत्नी र छोरा सहित भक्तपुर बस्ने भएपनि उनी गएराति दाइको डेरामा बसेर काममा निस्केको पारिवारिक सदस्यहरूले प्रहरीलाई बताएका छन् ।

त्रिपुरेश्वरबाट अस्पताल लैजाँदै गर्दा नेपालीले भनेका थिए, ‘महानगर प्रहरीले गर्दा यस्तो भएको हो ।’ घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप