नेपाली ब्याडमिन्टन खेलाडी एसियाली खेलकुदको क्वार्टरफाइनलमा

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको छैठौँ दिन बिहीबार नेपाली ब्याडमिन्टन खेलाडीले मिश्रित नतिजा निकालेका छन् । जारी एसियाली खेलकुदमा ब्याडमिन्टनको स्पर्धा बिहीबारदेखि नै सुरु भएको हो ।
नेपाली खेलाडी ब्याडमिन्टनको एउटा स्पर्धाको क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् । अर्को स्पर्धामा भने नेपाली खेलाडी प्रिक्वार्टरफाइनल चरणमै पराजित भएका छन् । पुरुष टिम स्पर्धाको प्रिक्वार्टरफाइनल खेलमा नेपालले मङ्गोलियालाई ३—१ ले हरायो ।
टिम स्पर्धाको पहिलो खेलमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जरगालसाइखनलाई २१—८ र २१—१४ अङ्कले हराए । सोही स्पर्धाको दोस्रो खेलमा नेपालका सुनिल जोशीले मङ्गोलियाका खुबितुगुल्दुर बाइम्बाजभलाई २१—११ र २१—७ अङ्कले पाखा लगाए ।
तेस्रो खेलमा भने नेपाली खेलाडी पराजित हुन पुगे । मङ्गोलियाका सुमियासुरेन एनखबतले नेपाली खेलाडी विष्णु कटुवाललाई २३—२१, २२—२४ र २१—१७ अङ्कले पराजित गरे । पुरुष टिम स्पर्धाको चौथो खेलमा भने नेपाली खेलाडीले सफलता हात पारे । चौथो खेलमा नेपालका प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले मङ्गोलियाका एनखबत ओलोनबायर र जोलजाया मुनखबातरलाई २१—८ र २१—९ अङ्कले हराए ।
यसैगरी ब्याडमिन्टनको महिला टिम स्पर्धामा भने नेपाली खेलाडी प्रिक्वार्टरफाइनल चरणमै पराजित भए । महिला टिम स्पर्धाको प्रिक्वार्टरफाइनलमा माल्दिभ्सले नेपाललाई ३—१ ले पाखा लगाएको हो । पहिलो खेलमा माल्दिभ्सकी फाथिमाथ रज्जाकले नेपालकी रसिला महर्जनलाई २४—२२, १९—२१ र २१—१३ अङ्कले हराइन् ।
दोस्रो खेलमा माल्दिभ्सकी अमिनथ रज्जाकले नेपालकी नङ्सल तामाङलाई २१—१६ र २१—१० अङ्कले पराजित गरिन् । तेस्रो खेलमा नेपालकी अनुमाया राईले माल्दिभ्सकी अइसाथ अफनान रसिदलाई २१—९ र २१—११ अङ्कले हराइन् ।
चौथो खेलमा भने नेपाली खेलाडी पराजित हुन् पुगे । चौथो खेलमा माल्दिभ्सका फाथिमाथ रज्जाक र अमिनथ रज्जाकको जोडीले नेपालका रसिला महर्जन र अनुमाया राईको जोडीलाई २१—१३ र २१—१९ अङ्कले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली