शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

महन्थ ठाकुर १६ वर्षदेखि सदाबहार अध्यक्ष, नेतृत्व परिवर्तन कहिले ?

सोमबार, १५ असोज २०८०, १८ : ३०
सोमबार, १५ असोज २०८०

काठमाडौँ । महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष छन् । तमलोपा हुँदै विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुगेका महन्थ ठाकुर पार्टीका सदाबहार अध्यक्षजस्तै भएका छन् । पार्टीमा अझै उनको विकल्प छैन ।

२०६५ देखि हालसम्म संसदमा मात्र होइन, सरकारमा पनि सम्मानजनक उपस्थिति देखाउँदै आएको तत्कालीन तमलोपा अर्थात् लोसपाका अध्यक्ष महन्थ ठाकुरले एक पटकमात्र महाधिवेशन गर्न सकेका छन् । २०७१ मा नवलपरासीमा भएको महाधिवेशनबाट ठाकुर नै अध्यक्ष भएका थिए । त्यस यता पार्टीको महाधिवेशन नै भएको छैन ।

पटक पटक महाधिवेशनका लागि मिति तय गरे पनि कुनै न कुनै बहानामा त्यो टर्थ्यो । निर्वाचन आयोगमा पनि पटक पटक महाधिवेशनका लागि म्याद थपिएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले एउटा जीवन्त पार्टीका लागि महाधिवेशन निकै महत्त्वपूर्ण कुरा भए पनि त्यसबाहेक कानुनी रुपमा निर्वाचन आयोगमा पार्टी अध्यावधिक गराउन पनि महाधिवेशन अपरिहार्य रहेको बताए ।

‘लोसपा गठन भएको दुई वर्ष भएको छ । पाँच वर्षभित्र महाधिवेशन गर्ने प्रावधान छ,’ सोनलले भने, ‘त्यसको पनि तयारी बिस्तारै सुरु हुन्छ ।’

विगतमा विभिन्न दलसँग एकीकरण, समायोजनका कारण तोकिएको समयमा महाधिवेशन नभएको प्रस्ट पार्दै उनले तर अब त्यस्तो नहुने बताए । पार्टीमा छलफल गरेर महाधिवेशनको मिति तय हुने उनले प्रस्ट पारे ।

लोसपाको पदाधिकारीसहित कार्यसमिति सदस्यको नामावली हालै सार्वजनिक भएको छ । पार्टीको पदाधिकारी बैठक मंगलबारका लागि बोलाइएको छ । पदाधिकारी बैठकले पनि पार्टीलाई एउटा दिशा निर्देश दिने विश्वास लिएको बताउँदै सोनलले पार्टीको सक्रियता अब बढ्ने दाबी गरे ।

महन्थ ठाकुरको इच्छा

पार्टीमा महन्थ ठाकुरलाई अध्यक्षबाट विश्राम लिन दबाब नपरेको होइन, तर उनी अध्यक्षबाट हट्ने मनस्थितिमा छैनन् । अध्यक्ष ठाकुरको उमेर र स्वास्थ्यले त्यति साथ दिइरहेको छैन । त्यसैले अध्यक्षको अभिभावकीय भूमिकामा रहेर कार्यकारी अध्यक्ष अरु कसैलाई दिने कि भनेर उनीसमक्ष पटकपटक प्रस्ताव गरिए पनि उनले कहिल्यै त्यो प्रस्तावलाई स्वीकार गरेनन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर मधेस आन्दोलन चलिरहेकै बेला महन्थ ठाकुरले २०६४ वैशाख १० गते तमलोपा गठन गरेका थिए । अध्यक्ष ठाकुरले उपेन्द्र यादवजस्तै विभिन्न दलसँग एकीकरण गर्दै, विधान फेर्दै आइरहेका छन् । १६ वर्षदेखि पार्टीको नेतृत्वमा रहँदै आएका उनले नेतृत्व हस्तान्तरण गर्ने छाँटकाँट अझै देखाएका छैनन् ।

पार्टीका महासचिव प्रमेश्वर साहले भने, ‘२०७१ मा तत्कालीन तमलोपाको महाधिवेशन नवलपरासीमा भएको थियो । महाधिवेशनपछि २०७२ मा मधेस आन्दोलन सुरु भयो । मधेस आन्दोलनपछि २०७४ मा विभिन्न पार्टी मिलेर राजपा बन्यो । त्यसपछि २०७७ मा समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा बनेको थियो । २०७८ मा विभाजन भएर लोसपा बनेको पनि दुई वर्ष बितेको छ, महाधिवेशन गराउने समय अझै तीन वर्ष बाँकी छ । यो बिचमा महाधिवेशन हुन्छ ।’

२०७४ वैशाख ७ गते महेन्द्रराय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको तत्कालीन संघीय सद्भावना पार्टीबिच एकीकरण भइ राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

सो पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादवसहितको एउटा अध्यक्षमण्डल बनाइएको थियो ।

महाधिवेशन स्थगित

दुई दुई महिनामा अध्यक्षमण्डलको संयोजक रहने चक्रीय प्रणालीमा पार्टी सञ्चालन गरियो । तत्कालीन राजपा नेपालको विधान २०७४ मा एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो ।

एक वर्षभित्र महाधिवेशन त हुन सकेन, अलमलमै तीन वर्ष बित्यो । यहाँसम्म कि तत्कालीन राजपाले महाधिवेशनको मिति सार्नका लागि दुई पटक आफ्नो विधान नै संशोधन गर्‍यो । २०७५ वैशाखमा पहिलो पटक एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर निर्वाचन आयोगलाई बुझाइएको थियो । त्यो अवधिमा पनि महाधिवेशन गराउन सकेन ।

अनि २०७६ वैशाखमा दोस्रो पटक विधान संशोधन गरेर एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरेर सोही सालको असार २९ गते आयोगलाई बुझायो तर तीन वर्षको अवधिमा तीन पटक महाधिवेशनको मिति सार्दा पनि महाधिवेशन गराउन सकेन ।

त्यो तीन वर्षको अवधिमा एकता महाधिवेशनका लागि तत्कालीन राजपा नेपालले विभिन्न मिति तय गरेको थियो । तर सो पार्टीभित्र आन्तरिक विवाद बढेकाले तोकिएको मितिमा महाधिवेशन हुन सकेन । तत्कालीन राजपाले २०७६ वैशाख ७–९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर त्यो मितिमा महाधिवेशन हुन सकेन । त्यसपछि २०७६ वैशाख १३ गते पत्रकार सम्मेलन गरेर तत्कालीन राजपाले २०७६ कात्तिक २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने जानकारी गराएको थियो ।

त्यसका लागि तत्कालीन अध्यक्षमण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समितिसमेत गठन गरिएको थियो ।

महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिइएको थियो । यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समितिसमेत गठन गरिएको थियो ।

त्यस अवधिमा पार्टी समायोजनको काम सकाएर प्रदेश, जिल्ला, पालिका यहाँसम्म कि वडासम्म अधिवेशन सम्पन्न गर्ने मितिसमेत तय गरिसकेको थियो ।

तर पार्टीभित्र अध्यक्ष मण्डलका सदस्य ६ जनाको बिचमा बढेको विवादका कारण समायोजनको काम नै अगाडि बढ्न सकेन बरु नेताहरुले जिल्ला जिल्लामा समान्तर कमिटी समेत बनाउन थाले । त्यही विवादका कारण कात्तिक २८ गतेका लागि तोकिएको महाधिवेशन हुन सकेन र २०७७ वैशाख १० गते मध्यरात तत्कालीन राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालसँग एकीकरण गरेर जसपा नेपाल गठन गरेको थियो ।

जसपा नेपालमा दुई जना अध्यक्ष रहने तय भयो । त्यसमा महन्थ ठाकुर पहिलो वरीयताका अध्यक्ष बने । जसपा गठनपछि बनेको अन्तरिम विधानमा पाँच वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो । त्यसअघि पार्टी समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरिएको थियो ।

पार्टी समायोजनको काम सुरु भएपछि राजपा जस्तै जसपामा पनि आन्तरिक विवाद सुरु भयो ।

एक वर्ष विवादमै बित्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी हुने विषयलाई लिएर जसपाभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबिच यस्तो विवाद उत्पन्न भयो कि पार्टी एक रहन सकेन ।

दुई वर्षअघि जसपाबाट अलग भएर महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा लोसपा गठन गरे । लोसपाको अन्तरिम विधान २०७८ मा महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने उल्लेख छ । यद्यपि विशेष कारणवस तोकिएको समयमा महाधिवेशन हुन नसकेमा अधिकतम ६ महिनासम्म म्याद थप गर्न सकिने व्यवस्था अन्तरिम विधानमा छ ।

विभिन्न विवादका बावजुद दुई वर्षमा बल्ल केन्द्रीय कार्यसमिति सार्वजनिक भयो । आन्तरिक विवादका कारण दुई वर्षसम्म लोसपा एउटा कार्यकारिणी समितिको भरमा चलेको थियो । कार्यकारिणी समिति बैठक पनि आक्कल झुक्कल बस्ने गर्थ्यो ।

महन्थ ठाकुरको विकल्प

लोसपामा महन्थ ठाकुरको विकल्प अझै देखिएको छैन । महन्थ ठाकुरले आफैँ नेतृत्व छाड्न तयार नभएसम्म उनको विकल्पमा कोही आउने अवस्था अझै देखिएको छैन ।

पार्टीका महासचिव प्रमेश्वर साहले भने, ‘नेतृत्व परिवर्तन गर्ने कुरा महाधिवेशनबाट हुन्छ, यदि महाधिवेशनबाट महन्थ ठाकुरको ठाउँमा कोही अर्को आउनु भयो भने बेग्लै कुरा हो, नभए उहाँको विकल्प अझै पार्टीमा छैन ।’

साहका अनुसार उमेरले बुढो भए पनि सोच बुढो हुनु हुँदैन । अध्यक्ष ठाकुरको सोच र नेतृत्व गर्ने क्षमता अझै जवान रहेकाले उनको विकल्प सोच्न नसकिने साहले बताए ।

महन्थ ठाकुरलाई अभिभावक राखेर राजेन्द्र महतो कार्यकारी अध्यक्ष बन्न चाहेको चर्चा पनि पार्टीभित्र चलेको थियो । स्रोतका अनुसार कार्यसमितिका सदस्यहरुको नाम सार्वजनिक गर्नुभन्दा पहिले राजेन्द्र महतोले पार्टीको कार्यवाहक अध्यक्ष दिन प्रस्ताव गरेका थिए । तर अध्यक्ष ठाकुरले दिन नमानेको बताइन्छ ।

अध्यक्ष ठाकुर आफू अझै एक कार्यकाल पार्टी अध्यक्ष रहने, त्यसपछि विचार गरिने कुरा राखेको स्रोतले दाबी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप