सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी

मङ्गलबार, १६ असोज २०८०, ०६ : ३४
मङ्गलबार, १६ असोज २०८०

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा थियो ‘जमघट’ रेस्टुरेन्ट । आजभोलि सो रेस्टुरेन्ट बन्द छ । रेस्टुरेन्टको सञ्चालक सटर लगाएर भागेका छन् भने सञ्चालिकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

रेस्टुरेन्ट सञ्चालिका कास्कीको पोखरा महानगरपालिका–५, लेखनाथ घर भएकी ३२ वर्षीया सुरुची भुजेल ठगी आरोपमा पक्राउ परेकी हुन् । उनका पति विनोद श्रेष्ठ फरार छन् ।

असोज ६ मा पक्राउ परेकी सुरुची र उनका पति विनोदले रेस्टुरेन्टमा आउने ग्राहकलाई ‘प्रलोभन’मा पारेर ठगी धन्दा चलाएका हुन् । टर्कीमा भूकम्पपछि संयुक्त राष्ट्रसंघ (युएन)ले पुनर्निर्माण सुुरु गरेको र त्यसका लागि कामदार माग गरेको भन्दै उनीहरुले रेस्टुरेन्टका ग्राहकलाई सपना बाँड्ने गरेका थिए ।

सेना, प्रहरी र सशस्त्रबाट अवकाश पाएकाहरु युएनको छनोटमा पर्छन् भनेर उनीहरुले रकम असुलेको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । पूर्व फौजीहरुलाई विश्वासमा पार्न सुरुची र विनोदले युएनको अफर लेटर र टर्कीको भिसा देखाउने गरेका थिए । अफर लेटर र भिसाको आधिकारिकताबारे सीआईबीका अनुसन्धान अधिकृतहरुले अनुसन्धान गरिरहेका छन् ।

आरोपितहरुले महिनामा १४ सय अमेरिकी डलर तलब हुने आश्वासन दिएर टर्की पठाउने भन्दै ठगीधन्दा चलाएका हुन् । उनीहरु विरुद्ध उजुरी दिनेमा अधिकांश पूर्व फौजी छन् ।

हालसम्म ८१ जनाले उजुरी दिएको एसपी अधिकारीले बताए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार दम्पती मिलेर कम्तीमा १ सय ५० जनालाई ठगेको थाहा भएको छ ।

संयुक्त राष्ट्रसंघको आकर्षक प्रोजेक्टमा काम गर्न टर्की पठाउने आश्वासन दिएर उनीहरुले प्रतिव्यक्ति ८ लाख रुपैयाँ माग्ने गरेका थिए । प्रोसेसिङ चार्ज बापत भनेर उनीहरुले प्रतिव्यक्ति ३ लाखदेखि १० लाख रुपैयाँसम्म लिएको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ ।

पैसा लिएर ६ महिनासम्म टर्की पठाउन नसकेपछि पीडितहरुले रेस्टुरेन्टमा आएर दबाब दिन थाले । त्यसपछि उनीहरु रेस्टुरेन्ट बन्द गरेर भागेका हुन् ।

होटलमा आउने ग्राहकलाई कुरा गरेर उनीहरुले अरु मान्छेलाई पनि सम्पर्कमा ल्याउने गरेका थिए । पीडितहरुबाट उनीहरुले भेटेर र बैंक खातामार्फत नगद लिएर ठगेको भेटिएको छ ।

आरोपित विनोद बौद्ध विकास समिति सदस्य

आरोपित विनोद श्रेष्ठ बौद्ध विकास समितिको सदस्य हुन् । विनोदको दम्पतीले अहिलेसम्म १ करोड १५ लाख ९९ हजार रुपैयाँ ठगेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘प्रतिव्यक्ति ३ लाखदेखि १० लाखसम्म लिएको भेटिएको छ ।’

टर्की पठाउने भनेर उनीहरुले ४ जनालाई भारतसम्म लगेका थिए । तर, त्यहाँ अलपत्र परेपछि पीडितहरु फर्केर प्रहरीमा उजुरी गरेका छन् । पत्नी पक्राउ परे पनि ४२ वर्षीय विनोद फरार छन् ।

विनोद दम्पतीसँगै ठगी गर्ने गिरोहमा थप दुई जनाको संलग्नता देखिएको छ । ती दुई जना भारतमा बसेर विनोद दम्पतीलाई परिचालन गर्ने भूमिकामा देखिएका छन् । उनीहरुबारे पनि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप