शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लोसपा बैठक

ठाकुरलाई महतोको प्रश्न : यति धेरै महासचिव बनाएर गिनिज बुकमा नाम लेखाउन मन छ ?

बिहीबार, १८ असोज २०८०, १८ : ५७
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । पार्टी गठन भएको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति सार्वजनिक गर्‍यो । सार्वजनिक गरेको एक सातामै पार्टी पदाधिकारीको बैठक पनि बोलाइयो । 

असोज १६–१७ गते दुई दिनसम्म चलेको बैठकमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष महन्थ ठाकुरको खुलेर आलोचना गरे । अध्यक्ष ठाकुरसँगको सहकार्यपछि यति तिखो आलोचना उनले पहिलो पटक गरेको बैठकमा सहभागी नेताहरु बताउँछन् । 

महतोको तीव्र आक्रोश

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ठाकुरले बनाएको जम्बो पदाधिकारीप्रति नेता महतोको आक्रोश थियो । 

‘पार्टीको बैठकले तपाईलाई २१ जनाको पदाधिकारी, ५१ जनाको कार्यकारिणी समिति बनाउने म्याण्डेट दिएको थियो । तर, ६३ जनाको पदाधिकारी बनाउने के बाध्यता आइलाग्यो तपाईलाई ?’ अध्यक्ष ठाकुरलाई प्रश्न गर्दै नेता महतोले भनेका थिए, ‘उपाध्यक्ष दुई चारवटा बढी बनाउँदा केही फरक पर्दैन । तर, महासचिव मात्र १६ जना बनाउनु भएको छ । महासचिव अध्यक्षजस्तै कार्यकारी पद हो । बढीमा दुई तीन जनासम्म बनाउँदा हुन्थ्यो । यति धेरै महासचिव बनाउन के बाध्यता थियो ? के महासचिवको संख्या देखाएर गिनिज बुकमा नाम लेखाउनु हुन्छ ?’

‘प्रसाद जस्तो पदाधिकारी बाँड्ने तपाईलाई के बाध्यता थियो ?’ प्रश्न गर्दै नेता महतोले नेताहरु त पद माग्न आउँछन् नै । तर, व्यवस्थापन कसरी गर्ने त्यो अध्यक्षको काम हो । यसमा अध्यक्षको कमजोरी देखिएको महतोले टिप्पणी गरे । 

बैठकमा सहभागी ती नेताका अनुसार नेता महतोले भने, ‘उसो भए माग्न त अध्यक्ष पनि मागिएको थियो । तर, किन दिनु भएन ? माग्दैमा प्रसाद जस्तै पदाधिकारी बाँड्ने हो भने अध्यक्ष पनि दिनुपथ्र्यो, त्यो पनि मागिएको थियो ।’

लोसपा संघर्षका लागि बनेको पार्टी हो, सत्ता, भत्ता र सरकारका लागि बनेको पार्टी होइन भन्दै नेता महतोले यहाँ उपस्थित हरेक नेताले काँग्रेस, एमाले, माओवादीमा गएर टिकट लिई चुनाव जितेर सरकारमा जान सक्ने हैसियत राख्छन् । तर, ती सबै त्यागेर लोसपा नै रोजेको पनि ख्याल राख्नुपर्ने धारणा राखेका थिए । 

‘तपाईलाई यहीं बैठकमा थुप्रै नेताले नैतिकवान, इमान्दार, इथिक्स भएका नेता भनेका छन् । तर, कार्य समिति बनाउँदा तपाईको इथिक्स कहाँ गयो, त्यहाँ आफ्नो इथिक्स किन देखाउनु भएन ?’ महतोले अध्यक्ष ठाकुरलाई सोधेका थिए ।

महतोले मागे आर्शिवाद

‘तपाईको स्वास्थ्य र उमेरले पनि धेरै कुरा गर्न दिइरहेको छैन, धेरै कुरा बिर्सिन थाल्नु भएको छ,’ नेता महतोले अध्यक्ष ठाकुरलाई इंगित गर्दै बैठकमा भने, ‘तपाई सक्नु हुन्न भने अरुलाई काम गर्न दिनुस् । यहाँ थुप्रै साथीहरु काम गर्न तयार हुनुहुन्छ । तपाई आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने अनि पार्टी कसरी अगाडि बढ्छ ?’ 

साथै, पार्टीमा काम गर्न अध्यक्ष ठाकुरबाट नेता महतोले आर्शिवाद पनि मागेका थिए । अध्यक्ष ठाकुरले तत्कालै भनेका थिए, ‘तपाईलाई मेरो आर्शिवाद छ ।’

नेता महतोले खुलेर आफूलाई कार्यकारी भूमिका दिन नभने पनि पटक पटक संकेत गरेका थिए । उनले अध्यक्ष ठाकुरसँग यसअघि पटक पटक कार्यकारी अध्यक्ष बनाउन आग्रह गरेका थिए । कार्यकारी अध्यक्ष नभएपनि कार्यवाहक अध्यक्ष दिनसमेत आग्रह गरेका थिए । तर अध्यक्ष ठाकुरले महतोलाई ‘भाउ’ दिएका छैनन् । 

संगठन निर्माणमा लाग्न निर्देशन

नेता महतोले बोलेपछि अध्यक्ष ठाकुरले भनेका थिए, ‘मेरो मार्केट भ्यालु कम भएको छ । चन्दा, सहयोग पनि कसैले दिन मान्दैनन्, म त्यस परिस्थितिमा आइसकेको छु । अब तपाईहरुले नै संगठन चलाउनुस् ।’

संगठन निर्माणदेखि आर्थिक कारोवार लगायतका कामहरु पनि गर्न अध्यक्ष ठाकुरले आग्रह गरेका थिए । तर, त्यो आग्रहमा आफूले अध्यक्ष पद नै छाड्ने र अरुलाई जिम्मेवारी दिने कुरा राखेनन् । बरु उनले भनेका थिए, ‘काँधसम्म राखेको छु । त्यो भन्दा पर जानु भयो भने लड्नु हुन्छ ।’

उनले पार्टीका नेताहरुको राय सुझावको आधारमा नै कार्य समिति बनाइएको, त्यसमा कोही छुटेका छन् भने त्यसलाई समावेश गर्न सकिने धारणा राखेका थिए । 

पार्टीको अन्तरिम विधानअनुसार ४०१ जनाको केन्द्रीय समिति बनाउन सकिन्छ । अझै ९० जना राख्न बाँकी छ, ककसलाई समावेश गराउनु हुन्छ थप्नुस् भन्दै अध्यक्ष ठाकुरले ४०१ भन्दा बढी संख्या बढाउने हो भने विधान नै संशोधन गर्नुपर्ने बताए । 

यो अहिलेको तदर्थ समिति हो । चाँडै नै विधान अधिवेशन गराएर विधान बनाउने र त्यसमा भएको सांगठनिक संरचनाअनुसार महाधिवेशन गराएर पार्टीलाई चुस्त र दुरुस्त बनाउने आफ्नो योजना रहेको र त्यसमा सबैले साथ दिनुपर्ने भनाई अध्यक्ष ठाकुरले राखेका थिए । 

उनले अब चाँडै नै अन्य समिति तथा भातृ संगठनहरु निर्माण गर्ने र त्यसको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिए । 

साथै, उनले नेताहरुलाई संगठन निर्माणमा आआफ्नो जिल्लामा क्रियाशील हुन निर्देशन दिँदै चाँडै नै कार्य समितिमा रहेका नेताहरुको कार्य विभाजन गरिने धारणा राखेका थिए । र, उनले फेरि दोहोर्‍याए, ‘अब यी सबै काम तपाईहरुले नै गर्ने हो ।’    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप