मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित

मङ्गलबार, २३ असोज २०८०, १६ : ५१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । क्याम्पसको प्रिन्सिपलले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी पाठकको विद्यार्थीहरूले नै राजीनामा माग गरेका हुन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका हुन् ।  

चौथो, पाचौं र इन्टर्नसिप गर्दै आएका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टनसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गरेका छन् ।

केही दिनदेखि युनिफर्मको नाममा क्याम्पसले विद्यार्थीहरूलाई दमन र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रिन्सिपल भएर आएसँगै पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । उक्त नियमले पहिलादेखि नै धेरै लगानी गरिसकेका विद्यार्थीहरूलाई थप व्ययभार पर्ने भन्दै उक्त ड्रेसकोट अस्वीकार गर्दै आएका छन् ।

प्रिन्सिपल भएर आएपछि विद्यार्थीहरूलाई अनावश्यक मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीहरूको आरोप छ । जसले गर्दा उनीहरूले प्रिन्सिपलको राजीनामा माग गर्दै आएका हुन् । विद्यार्थीहरूले क्याम्पसमा रातदिन नाराबाजी गर्न थालेपछि प्रिन्सिपल पाठकले सामाजिक सञ्जाल मार्फत विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको आरोप लगाएकी थिइन् ।

उनले सोमबार स्टाटस लेख्दै ‘मलाई बिहान ९ः३० बजेदेखि खाना पानी विना र रेष्टरूमबिना कलेजको अफिसमै रोकेर नाराबाजी गरी राखेका छन । मलाई मानसिक  तनाव पनि दिएका छन् । म यहाँबाट निस्किन चाहन्छु । अहिले त मेरै अफिसको ढोकानिर नै उभिएका छन् । यो अराजक भीडबाट मलाई निकाल्नुहोस् । निड हेल्प, ’ भनेकी थिइन् ।

यो विषयमा विद्यार्थीहरूले कसैले पनि बन्धक नबनाएको आफैँले सामाजिक सञ्जालमा त्यस्तो लेखेको बताएका छन् । विद्यार्थीले उठान गरेका सामान्य समस्या समाधान गर्नुको साटो सामाजिक सञ्जालमार्फत सहयोग चाहियो भन्दै कराउने गरेको विद्यार्थीहरूको आरोप छ ।

यो विषयमा कुरा बुझ्न खोज्दा प्रिन्सिपल पाठकले फोन उठाइनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप