सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विश्वकपमा आज

विश्वकपमा बलियो भारत र एकदिवसीयमा बलियो पाकिस्तान आपसमा भिड्दै

एकदिवसीय विश्वकप : भारत विजयी ७, पाकिस्तान विजयी ०
शनिबार, २७ असोज २०८०, ०६ : २४
शनिबार, २७ असोज २०८०

काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदै छ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यी दुई राष्ट्रको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा समेत पर्ने गरेको छ । त्यसैले पनि विश्वभरका करोडौँ क्रिकेट प्रेमीलाई यी दुई राष्ट्रबिचको खेलको प्रशिक्षा रहन्छ ।

यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । त्यसैले यी दुवै राष्ट्रको विश्वकपमा यो १३औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् ।

भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पाकिस्तानी टोलीले भने सन् १९९२ मा विश्वकपको उपाधि चुमेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् ।

भारत आईसीसी वरीयताको पहिलो स्थानमा आसीन छ । पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ । १३औँ विश्वकप सुरु हुनुअघि पाकिस्तानलाई नै पछि पार्दै भारत एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको हो ।

जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई—दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् । आयोजक राष्ट्र भारतले आफ्नो पहिलो खेलमा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो ।

आफ्नो दोस्रो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानमाथि आठ विकेटको जित निकालेको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानले श्रीलङ्कामाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।

आफ्ना प्रभावशाली युवा ओपनर शुभमन गिलको अनुपस्थितिमा पनि भारतीय ब्याट्सम्यानले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । डेङ्गु सङ्क्रमण भएका कारण गिलले अघिल्ला दुवै खेल गुमाएका थिए । सम्भवतः उनी पाकिस्तानविरुद्धको खेलमा पनि अनुपस्थित हुनेछन् ।

यो विश्वकपमा भारतीय टोली निकै सन्तुलित देखिएको छ । भारतीय टोलीको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ । आफ्नो पहिलो खेलमा अस्ट्रेलियन टोलीका ब्याट्सम्यानलाई भारतीय बलरहरुको आक्रमण झेल्न सकस परेको थियो ।

रवीन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादवजस्ता प्रभावशाली बलरको दबाबमा परेको अस्ट्रेलियन टोली ४९.३ ओभरमा केवल एक सय ९९ रनमै समेटिएको थियो । त्यसपछि आफ्ना दुवै ओपनरलाई शून्य रनमै गुमाएको भारतले ४१.२ ओभरमै विजय लक्ष्य पुरा गरेको थियो ।

ओपनरद्वय रोहित शर्मा र इशान किसन शून्य रनमै पेभेलियन फर्किए पनि पूर्वकप्तान विराट कोहली (८५ रन) र केएल राहुल (अविजित ९७ रन) ले भारतलाई जितसम्म डोर्याएका थिए । त्यो खेलबाट भारतले प्रतिद्वन्द्वीहरूलाई आफ्ना मध्यक्रमका ब्याट्सम्यानहरु पनि नतिजा उल्टाउन समक्ष रहेको संकेत दिएको थियो ।

यद्दपि, तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्धको खेलको क्रममा भारतीय बलरहरु खासै प्रभावकारी देखिएका थिएनन् । त्यसैको प्रतिफल हो, भारतीय बलरहरुलाई निरिह बनाउँदै अफगानिस्तानका ब्याट्सम्यानले टोलीको स्कोर दुई सय ७२ रनसम्म पुर्याएका थिए ।

ब्याट्सम्यानहरुलाई साथ दिने पिच भए पनि त्यो खेलमा भारतीय बलर जसप्रित बुमराहले चार र हार्दिक पाण्डेयाले दुई विकेट लिएका थिए । जावफी ब्याटिङमा ओर्लिएको भारतले ३५ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

त्यो खेलमा भारतीय टोलीका कप्तान शर्माले ८४ बलमा कीर्तिमान एक सय ३१ रन बनाएका थिए । कोहलीले पनि ५५ रनको योगदान गरेका थिए । ओपनिङ विकेटका लागि शर्मा र किशन (४७ रन) ले एक सय ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

अर्कोतिर, आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले दुई सय ८६ रन बनाएको थियो । पाकिस्तानका दुई ब्याट्सम्यान मोहम्मद रिजवानले ६८ र साउद सकिलले पनि ६८ रन बनाएका थिए । तर, पाकिस्तानी बलरहरुको लगातारको आक्रमण झेल्न नसकेको नेदरल्यान्ड ४१ ओभरमै केवल दुई सय पाँच रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा पाकिस्तानी बलर ह्यारिस रउफले तीन र हसन अलीले दुई विकेट लिएका थिए ।

पाकिस्तानले आफ्नो वास्तविक क्षमताको पहिचान भने श्रीलंकाविरुद्धको दोस्रो खेलमा दिएको थियो । उक्त खेलमा श्रीलंकाले पाकिस्तानलाई जितका लागि तीन सय ४५ रनको लक्ष्य दिएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिस (एक सय २२ रन) र सदिरा सामराबिक्रमा (एक सय आठ रन) ले शतकीय पाली खेलेका थिए । ओपनर पाथुम निसानका (५१ रन) ले पनि अर्धसतक बनाएका थिए ।्

तर, पाकिस्तानले त्यो विजय लक्ष्य पनि ४८.२ ओभरमा केवल चार विकेट गुमाएर पुरा गरेको थियो । पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिकले एक सय १३ र मोहम्मद रिजवानले अविजित एक सय ३१ रन बनाएका थिए । खेल अवधिभर पाकिस्तानी ब्याट्सम्यानले श्रीलङ्काली बलरहरुलाई निरिह बनाएका थिए ।

तर, जारी विश्वकपमा पाकिस्तानले सबैभन्दा बढी विश्वास गरेको तीव्र गतिका बलर साहिन शाह अफरिदी भने चल्न सकेका छैनन् । पाकिस्तानका लागि यो सबैभन्दा ठुलो चिन्ताको विषय हो । उनले दुवै खेलमा एक—एक विकेटमात्र लिन सकेका छन् ।

यसदेखि बाहेक एकदिवसीय विश्वकपको भारतविरुद्धको खेलमा पाकिस्तानले आफ्नै इतिहासले पनि लखेट्ने गरेको पाइन्छ । हालसम्म एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच सातवटा खेल खेलिएको छ । ती सबै खेलमा पाकिस्तान पराजित भएको छ । अर्थात एकदिवसीय विश्वकपमा भारतविरुद्ध पाकिस्तानको इतिहास सुखद छैन ।

यी दुई राष्ट्रबिच विश्वकपमा सबैभन्दा पहिले सन् १९९२ मा पहिलो खेल खेलिएको थियो । त्यो खेलमा भारत ४३ रनले विजयी भएको थियो । सन् १९९६ को विश्वकपमा भारतले पाकिस्तानलाई ३९ रनले हराएको थियो । त्यसपछि सन् १९९९ को विश्वकपमा भारतले पाकिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

यसैगरी सन् २००३ को विश्वकपमा पाकिस्तानी टोली भारतसँग ६ विकेटले हारेको थियो । सन् २०११ को विश्वकपमा भारतले पाकिस्तानलाई २९ रनले हराएको थियो । सन् २०१५ को विश्वकपमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको थियो । अन्तिम पटक सन् २०१९ को विश्वकपमा पनि भारतले आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८९ रनको विजय प्राप्त गरेको थियो ।

एकदिवसीय विश्वकपमा पाकिस्तानविरुद्ध भारतले बनाएको उच्च स्कोर तीन सय ३६ रन हो । पाकिस्तानले भने भारतविरुद्ध बनाएको उच्च स्कोर दुई सय ७३ रन हो । यसैगरी विश्वकपमा पाकिस्तानविरुद्ध भारतले बनाएको सबैभन्दा कम योगफल दुई सय १६ रन हो । पाकिस्तानले भारतविरुद्ध बनाएको कम स्कोर भने एक सय ७३ रन हो ।

यसका विपरीत हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासलाई हेर्दा भने भारतभन्दा पाकिस्तानको इतिहास निकै गौरवशाली देखिन्छ । हालसम्म भारत र पाकिस्तानबीच कुल एक सय ३४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।

त्यसमध्ये ७३ वटा एकदिवसीय खेलमा पाकिस्तानले भारतलाई हराएको छ । भारतले भने ५६ खेलमा मात्र पाकिस्तानलाई हराउन सकेको छ । यी दुई राष्ट्रबिचको पाँचवटा खेल भने अनिर्णीत रूपमा सकिएको छ । भारतले आफ्नो घरेलु मैदानमा ११ खेल जितेको छ भने पाकिस्तानले घरेलु मैदानमा १४ खेलमा सफलता हात पारेको छ ।

यसैगरी भारतले पाकिस्तानको मैदानमा ११ खेल जितेको छ भने पाकिस्तानले भारतको मैदानमा १९ खेलमा सफलता हात पारेको छ । ‘न्यूट्रल भेन्यू’ मा भने पाकिस्तानले ४० र भारतले ३४ खेलमा सफलता हात पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप