बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘विवाहले अभिनय करियरमा फरक परेको छैन’

अभिनेत्रीलाई हेर्ने समाजको दृष्टिकोण फेरियो : केकी अधिकारी
शनिबार, २७ असोज २०८०

प्रायः अभिनेत्री विवाहपछि हराउँछन् । त्यसैले, फिल्म क्षेत्रमा विवाहपछि अभिनेत्रीहरू पलायन हुन्छन् भन्ने गरिन्छ । अभिनेत्री केकी अधिकारीको सक्रियता भने विवाह अगाडि र पछाडि एकैनास छ । 

२०७९ वैशाखमा प्रेमी रोहित तिवारीसँग विवाह गरेकी केकीले विवाहले अभिनय करियरमा खासै फरक नपर्ने बताउँछिन् ।

‘विवाहले अभिनेत्रीमा दुई परिवारको जिम्मेवारी बढ्छ । पहिले भन्दा उसले धेरै कुरोमा ध्यान दिनुपर्छ । परिवारप्रति अझै जिम्मेवार हुनुपर्छ’, केकीले भनिन्, ‘कलाकारिताको निरन्तरताका लागि केही अप्ठ्यारो नभएको मेरो अनुभव छ ।’ विवाहपछि अभिनय र वैवाहिक जीवन एकदमै राम्रोसँग चलिरहेको उनी सुनाउँछिन् । 

‘हामी दुवैले एक अर्कोलाई जति समय दिनुपर्ने हो, त्यो भने दिन सकेका छैनौँ,’ उनले थपिन्, ‘त्यसैले, तत्काल सन्तानको प्लानिङ पनि छैन ।’

keki adhikari (3)

पछिल्लो समय उनी आफू अभिनीत फिल्म ‘परदेशी २’ मा व्यस्त छिन् । फिल्म शुक्रबार रिलिज भएसँगै उनलाई निकै धपेरी छ । रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो व्यस्तता खोलिन्, ‘फिल्म प्रचारबाहेक अन्य केही प्रोजेक्ट पनि छ । दसैँ नजिकिँदै गर्दा सपिङको पनि चटारो छ ।’

‘परदेशी २’ फिल्मका निर्देशक नारायण रायमाझी हुन् । रायमाझीको फिल्मको प्रचार गर्ने भिन्न शैली छ । उनले प्रचारका लागि फिल्मबाट १५ मिनेटको कथा झिकेर नाटकसमेत बनाइएको छन् । त्यही नाटक देशको स्कुल, कलेज सर्वसाधारणको जमघट हुने स्थानमा देखाइएको छ । फिल्मको सार झिकिएको गीति नाटकले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाएको केकी बताउँछिन् ।

keki adhikari (1)

‘परदेशी २’ केकीको ३३ औँ फिल्म हो । अहिले आएर उनले प्रचारको केही नौलो शैली अनुभव गर्न पाएकी छन् । प्रचारका लागि सर्वसाधारणसँग भेट्दा बल्ल फिल्मको वास्तविक दर्शक माझ पुगेको उनलाई अनुभव भएको छ ।

‘दर्शकका लागि एउटा म्यासेजले भरिएको केही देखाउने हो भने फिल्मप्रति चासो बढ्दो रहेछ’, उनले सुनाइन्, ‘प्रचारको क्लिप दर्शकले सामाजिक सञ्जालमा हाल्दा बेग्लै प्रचारसमेत हुन्छ ।’

अभिनय ‘नोटिस’ भएन

करिब ३ दर्जन फिल्म प्रदर्शनमा आउँदै गर्दा एउटा सत्य के हो भने अभिनेत्रीको रूपमा केकीले थुप्रै चरित्र निर्वाह गरेकी छन् । तर, निर्वाह गरेको चरित्रको हिसाबले उनको चर्चा भएको छैन, त्यो उनले पनि नजरअन्दाज गरेको पाटो हो । आगामी दिनमा यो सत्य मनन गरेर अगाडि बढ्ने सोच उनको छ ।

‘म कलाकारको रूपमा सानो पात्र भए पनि खुसी हुने । नयाँ काम आउने बित्तिकै उत्साहित हुने कलाकार हो’, केकी भन्छिन्, ‘मैले हरेक फिल्ममा फरक पात्र निर्वाह गरेको छु । महिलाको कथामा स्ट्रङ फिल्म ‘मसान’, ‘बितेको पल’, ‘झिँगे दाउ’ गरेको छु ।’ 

जति नै फिल्म खेले पनि चरित्रको हिसाबले चिनिने ५ फिल्म पनि आफ्नो नभएको उनले महसुस भने गरेकी छन् ।

keki adhikari (2)

‘मैले अभिनय गरेको फिल्ममा कहिले पात्र हाबी हुन्छ, कहिले म आफै । मिडिया र दर्शकले पनि मलाई पात्रको रूपमा भन्दा पनि केकीकै रूपमा अगाडि सार्छन्’ उनी अगाडि भन्छिन्, ‘मलाई पनि चरित्रको हिसाबले चिन्ने मेरो ५ वटा फिल्म होस् भन्ने छ । केकीको कारण भन्दा पनि पात्रको नामले चिनोस् भन्ने छ ।’

केकी अभिनेत्रीको अलावा निर्माता पनि हुन् । केही अगाडि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी उनले अहिले ‘बोक्सीको घर’ निर्माण गरेकी छन् । ‘बोक्सीको घर’ फिल्मको चरित्रले भने आफ्नो अहिलेको अभाव पूर्ति गर्ने उनी बताउँछिन् ।

फिल्म ‘परदेशी २’मा केकीले स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरेकी छन् । जसमा ‘प्लस टु’पछि अध्ययनका लागि साथीहरूसँगै विदेश जाने कि स्वदेशै बसेर देशको सेवा गर्ने भन्ने दोधारमा रहने स्वास्थ्यकर्मीको छ । 

फिल्मको भूमिका जे भए पनि यसपालि अभिनय भने दर्शकले नोटिस गर्ने उनको भनाई छ ।

फेरियो दृष्टिकोण

फिल्म ‘परदेशी २’मा केकीको अलावा गायक प्रकाश सपुत र अभिनेत्री वर्षा शिवाकोटीको पनि अभिनय छ । केकी र वर्षाको सेन्टर क्यारेक्टरमा सपुत छन् । सपुत यसै फिल्मबाट हिरोको  रूपमा देखिन लागेका हुन् । सपुतसँग केकी र वर्षाको बराबर जस्तो क्यारेक्टर रहेको छ ।

keki adhikari (4)

थुप्रै अभिनेतासँग काम गरिसकेकी केकीको सपुतसँगको सहकार्य कस्तो रह्यो त ?

सपुतसँगको अभिनय सहकार्य एकदमै राम्रो रहेको केकीले बताइन् । ‘फिल्म ४ वर्ष अगाडि सुटिङ भएको हो । त्यो समय सपुतको अहिले जस्तो स्ट्याटस थिएन । त्यही पनि अभिनयमा सजिलो, सपोर्टिङ र कला चेत भएको व्यक्तिको रूपमा मैले पाएँ’, केकी भन्दै थिइन्, ‘अभिनय बुझेर गर्ने, आफूलाई पात्रमा डुबाउन सक्नेदेखि सामाजिक व्यक्तित्वको रूपमा भेटे ।’ 

केकीलाई एक्सन रोलमा अहिलेसम्म दर्शकले देख्न पाएको छैनन् । भन्छिन्, ‘अभिनय धेरै प्रकारको गरेकी छु । एक्सन नगर्ने भन्ने होइन, आगामी दिनमा अफर आए अवश्य गर्नेछु ।’ 

keki adhikari (5)

केकी अभिनयमा भित्रिएको करिब १० वर्ष भयो । उनी अभिनयमा भित्रिदा समाजमा महिला कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । अहिले भने केही परिवर्तन भएको उनको बुझाई छ ।

‘पहिलेको तुलनामा समाजले अभिनेत्रीलाई हेर्ने दृष्टिकोण धेरै फराकिलो भएको छ’, उनी थप्छिन्, ‘म अभिनयमा भित्रिदा कलेज, समाजमा अभिनेत्री हुँ भनेर लुकाउनुपर्थ्यो  । अहिले गर्वका साथ भन्न सकिन्छ ।’ अहिले स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनेत्रीको राम्रो चिनारी हुने गरेकोमा उनी प्रफुल्लित छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया