मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

विश्वासको मत लिन किन हतारिए मुख्यमन्त्री कार्की ?

सोमबार, २९ असोज २०८०, १२ : ५३
सोमबार, २९ असोज २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरुले विश्वासको मत लिने तालिका ३० औँ दिनसम्म पुग्ने गरेको थियो । तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारले धेरै छिटो विश्वासको मत लिन लागेको हो ।

प्रदेशसभा बैठक कार्तिक १ गतेका लागि बोलाइएको छ । संसद सचिवालयले जारी गरेको सूचनामा मुख्यमन्त्रीले विश्वासको मत लिने विषय भने उल्लेख छैन । तर, प्रदेशसभा सचिव गोपाल पराजुलीले भोलि (मंगलबार)सम्ममा प्रदेशसभामा सूचना आउनसक्ने बताए ।

‘अहिलेसम्म विश्वासको मत लिने विषयमा कुनै जानकारी आएको छैन,’ पराजुलीले भने, ‘भोलि दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ । सम्भवतः त्यही बैठकमा सबै कुरा थाहा होला ।’

सरकारका प्रवक्ता तथा मन्त्री शम्शेर राईले विश्वासको मत लिनकै लागि प्रदेशसभा आह्वान गरिएको भए पनि यसको मितिबारे मुख्यमन्त्रीले निर्णय गर्ने बताए । ‘सम्भवतः विश्वासको मत लिनकै लागि बैठक बोलाइएको हुनुपर्छ,’ उनले भने, ‘यस विषयमा मुख्यमन्त्रीले नै निर्णय लिने कुरा हो । तर, लाक्षणिक हिसावले भन्नु पर्दा त्यही बुझ्दा हुन्छ ।’

सत्ता गठबन्धनको निर्णयविपरीत कार्की आफूसहित कांग्रेसका ८ सांसदलाई विद्रोह गराएर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको २६ गतेसम्मको समयमा कार्कीले एमालेसहितको समर्थनमा र गठबन्धनबाट इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । दुई जनाको ४७–४७ सांसदको दाबी रहेपछि प्रदेश प्रमुखले शनिबार सांसदहरुको हस्ताक्षर सनाखत गराएका थिए । जसमा कार्की पक्षका ४७ सांसदले हस्ताक्षर सनाखत गराए । सोही आधारमा उनी मुख्यमन्त्री भए भने आङ्बो सांसदको हस्ताक्षर सनाखत गराउनै गएनन् ।

कोशी प्रदेशमा विकसित भएको राजनीतिपछि केन्द्रको सत्ता गठबन्धनमा पनि संकट आउने सम्भावना बढ्यो । उक्त सम्भावनालाई निष्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कोशीमा विद्रोह गर्न लगाएका कांग्रेस नेता शेखर कोइरालाबिच गठबन्धन टिकाइराख्ने सहमति सार्वजनिक भयो । उक्त सहमतिले पुनः एमाले र कोइराला पक्षबिच अविश्वास र आशङ्का पैदा भयो ।

कोइरालाले सञ्चारमाध्यामलाई दिएको अन्तरवार्तामा गठबन्धनसँग पनि मिलेर जान मुख्यमन्त्रीलाई भनेको बताएका छन् । ‘मिलेर जाऔँ । अहिले हामीले गठबन्धन तोड्नुहुँदैन भनेर उहाँलाई मैले भनेको छु । तर, के गर्नुहुन्छ । गर्ने त उहाँले हो नि ! ३९ जना एमालेका सांसदले साथ दिनुभएको छ । मैले चाहिँ गठबन्धन नतोड भनेको छु भन्न चाहिँ,’ कोइरालाले रातोपाटीसँगको अन्तरवार्तामा भनेका छन् ।

कोइरालाले गरेको सहमति र यसखालका अभिव्यक्तिले एमालेलाई शङ्का जन्माएको छ भने कोइरालाले गरेको विद्रोहले गठबन्धनका नेताहरुलाई शङ्का जन्माएको छ । शङ्का र अविश्वास आइतबार मुख्यमन्त्रीले लिएको शपथग्रहण र मन्त्रीमण्डल विस्तारमा पनि देखियो । एमालेले आफ्ना तीन जनालाई पहिलो चरणमै मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । जसमा रामबहादुर रानासहित एकराज कार्की र सिर्जना राई थिए । तर, कार्कीले एमालेका तीन जना नियुक्त गर्ने भए कांग्रेसबाट पनि थप्छु भनेपछि उक्त कुरा रोकियो ।

मन्त्री नियुक्त हुने दिन आइतबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सांसद संख्याको आधारमा मन्त्रीमण्डल विस्तार हुनुपर्ने बताएका थिए । त्यसको अर्थ एमालेका ३९ र विद्रोही कांग्रेसका ८ जना सांसद संख्याको आधारमा मन्त्रीमण्डलमा सहभागिता भनिएको हो । तर, मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्दा एमालेबाट एक जना र कांग्रेसबाट एक जना क्रमशः रामबहादुर राना र शम्शेर राईलाई मात्रै मन्त्री नियुक्त गरे । जसले एमालेलाई सुरुवातमै आशङ्का सिर्जना गराएको छ ।

गठबन्धनले गरेको निर्णयलाई चक्मा दिँदै कांग्रेसबाट विद्रोह गराएर एमालेले मुख्यमन्त्री बनाएका कार्कीले सुरुवातमै एमालेलाई बेवास्ता गरेको एमाले नेता बताउँछन् । कतिपय एमाले नेताले यस विषयमा आक्रोश पनि व्यक्त गर्न थालेका छन् । ‘सरकारमा माओवादी पनि सहभागी भएको खण्डमा हामीले सोच्नु पर्छ,’ एमाले दलका नेता कार्की बताउँछन्, ‘हामीलाई अहिले सहमतिको सरकार बनाउनेबारे रुचि छैन । त्यस्तो भएको खण्डमा हामी त्यसैबेला निर्णय गर्छौं ।’

उता, सहमति गरेरै अगाडि बढ्ने र गठबन्धन मजबुत बनाउने निर्णय गरेका तीन नेताको सहमति पहिलो मन्त्रीमण्डल विस्तारमा भने उल्लङ्घन भयो । मुख्यमन्त्री कार्कीले सहमति पालना गर्लान् कि नगर्लान् भन्नेमा संशय पैदा गरेको छ ।

‘हामी प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो,’ माओवादी सांसद दुर्गाप्रसाद चापागाईं भन्छन्, ‘सरकारमै जाने अवस्था भए पनि वा उहाँहरुलाई समर्थन गर्दा पनि मुख्यमन्त्रीले आगामी दिनमा लिने कदम कस्तो हुन्छ, त्यसलाई हेरेरमात्रै निर्णय गर्नुपर्छ ।’

उनले मुख्यमन्त्री कार्कीले अहिलेसम्म कुनै छलफल नगरेको र गठबन्धन दलहरुसँग छलफल गर्नुपर्ने आवश्यकता नठानेको जस्तो देखिएको बताए ।

देउवा, प्रचण्ड र कोइरालाले गरेको सहमति तथा एमालेले बनाएको मुख्यमन्त्री भएका कारण कार्कीलाई पनि आशङ्का र अविश्वास कायमै छ । त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ । ‘विश्वासको मत लिन ढिला गर्दा धेरै चलखेल हुने भयो । गठबन्धनले मेरो मुख्यमन्त्री भन्ने, एमालेले मैले बनाएको मुख्यमन्त्री भन्ने । मन्त्रीमण्डल विस्तार र जिम्मेवारीमा हस्तक्षेप हुने अवस्था आउने भयो,’ उनी निकट स्रोत भन्छ, ‘विश्वासको मत लिएपछि भने जो–जोसँग मिलेर अगाडि बढे पनि भयो । मुख्यमन्त्रीलाई जोखिम हुँदा मध्यावधिमा जान्छ । मध्यावधि हुँदा सबै दललाई जोखिम हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप