मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली सरकारको त्रैमासिक समीक्षा

अनुगमन, सम्मान–पुरस्कार वितरणदेखि तालिम गोष्ठीसम्म, भौतिक प्रगति कमजोर

मङ्गलबार, ३० असोज २०८०, २० : ०३
मङ्गलबार, ३० असोज २०८०

सुर्खेत । ०७९ पुसमा कर्णाली सरकारको नेतृत्वमा पुगेका राजकुमार शर्माले मंगलबार पत्रकारसँग चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदानसहित पत्रकार सम्मेलन गरे । मुख्यमन्त्री भएपछि दोस्रो पटक पत्रकारसँग उनले साक्षात्कार गरेका थिए ।

नेतृत्व लिँदै गर्दा शर्मा नेतृत्वको सरकारमा रहेका मन्त्री र स्वयं शर्मामा कर्णाली बदल्ने हुटहुटी थियो । तर, राजनीतिक किचलो र सरकार गठनमै ०७९ साल बित्यो । त्यसपछि नयाँ बजेट ल्याउने र गोष्ठी, सेमीनार र विभिन्न कार्यक्रममा सहभागिता जनाउँदैमा तीन महिना बितेको छ ।

मंगलबारको पत्रबार सम्मेलनमा मुख्यमन्त्री शर्माले ४४ बुँदे कार्यप्रगति सार्वजनिक गरे । जसलाई उनले ‘त्रैमासिक कार्यप्रगति’ भनेका छन् । तर उक्त कार्यप्रगतिमा यो चाहिँ गज्जबको काम भयो है भन्ने खालको बुँदा देखिँदैन ।

सरकारबाट हुने नियमित कामकाज, गोष्ठी सेमीनार, तालिम सम्पन्न, मस्यौदा तयार लगायतका काम बाहेक अन्य कुनै उपलब्धि कार्यप्रगति विवरणमा देखिन्न । साउन महिना लागेसँगै बजेट कार्यान्वयन आइसकेको छ । तर, सरकारका मन्त्रीहरु निकै फुर्सदमा छन् । मन्त्रीहरु होटेल उद्घाटन, मोबाइल पसल उद्घाटनदेखि आफ्नो गृह जिल्लामा हुने स–साना कार्यक्रम उद्घाटन गर्न पुगिहाल्छन् ।

सोमबारमात्र सरकारका अर्थमन्त्री वेदराज सिंहले वीरेन्द्रनगरमा एउटा मोबाइल पसल उद्घाटन गरे भने आइतबार कानुन मन्त्री कृष्णबहादुर जिसीले एक होटेल उद्घाटन गरे ।

उद्योग, पर्यटन मन्त्री भने आफ्नो गृह जिल्ला दैलेखमा हुने स–साना कार्यक्रममा सरिक भइरहेका देखिन्छन् । यस्तै कृषि मन्त्री भीम प्रकाश शर्मा पनि गृह जिल्ला सल्यान केन्द्रित देखिन्छन् ।

आर्थिक वर्ष ०७९/०८० को समीक्षा बैठकमा मन्त्री र कर्मचारीहरुले प्रत्येक महिना जिल्लामा पुगेर अनुगमन र त्यसको समीक्षासहितको रिपोर्ट मुख्यमन्त्रीलाई बुझाउनुपर्ने उर्दी जारी गरिएको थियो । तर, मन्त्रीहरुले त्यस्तो कुनै कार्य गरेको देखिन्न ।

के छ त्रैमासिक प्रगतिमा ?

मुख्यमन्त्री शर्माले सार्वजनिक गरेको प्रगति विवरणमा लगानी सम्मेलनको तयारी भइरहेकोदेखि स्विट्जरल्याण्ड भ्रमण गरेको उल्लेख छ । उक्त भ्रमणमा प्रदेशको सामाजिक आर्थिक विकासको लागि प्रस्ताव तयार गरी लगानीको लागि छलफल भएको उल्लेख छ ।

बाढी, पहिरो, चट्याङ, आगलागी पीडितको विवरण संकलन भइरहेकोदेखि किसानलाई ६ करोड राहत रकम उपलब्ध गराउयने निर्णय गरिएका कुरा उपलब्धिमा राखिएको छ ।

यस्तै प्रदेश सभामा तीन वटा विधेयक दर्ता भई छलफलको चरणमा रहेको, तीन वटा विधेयक पारित भएको शर्माले उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।

साउनदेखि हालसम्म ३६० जना प्रदेश तथा स्थानीय तहमा सहायकस्तरका कर्मचारी नियुक्तिका लागि सिफारिस गरिएको पनि प्रमुख उपलब्धिका रुपमा उल्लेख गरिएको छ ।

शर्मा नेतृत्वको सरकारले देखिने गरी गरेको एउटै काम हो, प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना । जसको अहिले काम भइरहेको छ । सोही प्रतिष्ठानले तालिम दिनेदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

शर्माले सहिद परिवारलाई सहयोगसहित पुरस्कार वितरण, कर्मचारी र पत्रकारलाई पुरस्कार वितरण गरेको विषयलाई पनि आफ्नो उपलब्धिका रुपमा राखेका छन् ।

स्वास्थ्य सेवातर्फ यसअघिनै कार्यान्वयनको चरणमा रहेका योजनालाई उपलब्धिका रुपमा देखाइएको छ भने विकास निर्माणतर्फ देखिने गरी कुनै कामको सुरुवात भएको देखिन्न ।

मुख्यमन्त्री राजकुमार शर्मा काम गर्न विभिन्न खालका जटिलता रहेको बताउँछन् । कानुनी र वित्तीय जटिलताका कारण अप्ठ्यारा रहेको र समस्याको समाधान गर्न आफूहरु लागिरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप