सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकपमा आज : अस्तित्व रक्षाका लागि भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का

बिहीबार, ०९ कात्तिक २०८०, १० : ३१
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल बिहीबार खेलिँदैछ । उक्त खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त हुनेछ । खेल बेंगलौरको एम। चिन्नस्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

सन् १९९६ को विजेता श्रीलङ्का र साबिक विजेता इङ्गल्यान्ड बिहीबार जारी विश्वकपमा आफ्नो अस्तित्व रक्षाका लागि भिड्ने छन् । किनभने जारी विश्वकपमा हालसम्म चार खेल खेलिसकेका यी दुवै टोलीले एक—एक जित मात्र हात पार्न सकेका छन् । 

यी दुवै टोली तीन—तीन खेलमा पराजित भइसकेका छन् । श्रीलङ्का दुई अङ्कसहित तालिकाको सातौँ र समान अङ्क बटुलेको इङ्गल्यान्ड नेट रन रेटमा पछि पर्दै आठौँ स्थानमा आसीन छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना जीवित राख्न यी दुवै टोली बिहीबारको खेल जित्नै पर्ने दबाबमा छन् । 

जारी विश्वकपमा यी दुवै टोलीले आफ्ना समर्थकलाई निराश पारेका छन् । दुवै टोलीको ब्याटिङ र बलिङ निराशाजनक देखिएको छ । इङ्गल्यान्ड आफ्नो पहिलो खेलमा साबिक उपविजेता न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा इङ्गल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको थियो । इङ्गल्यान्डको टोली आफ्नो तेस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो । चौथो खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकासँग दुई सय २९ रनले पराजय भोगेको थियो ।

यसैगरी श्रीलङ्काले पनि जारी विश्वकपमा इङ्गल्यान्डकै जस्तो नियति भोगेको छ । श्रीलङ्काली टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । दोस्रो खेलमा पनि श्रीलङ्काली टोली पाकिस्तानसँग ६ विकेटले हारेको थियो ।

आफ्नो तेस्रो खेलमा पनि श्रीलङ्काली टोली पाँच पटकको विजेता अस्ट्रेलियासँग पाँच विकेटले हार स्विकार्न बाध्य भएको थियो । आफ्नो चौथो खेलमा भने श्रीलङ्काली टोलीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । त्यसैले बिहीबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । 

उस्तै छ एकदिवसीय खेलको इतिहास

यी दुई राष्ट्रले यसअघि आपसमा खेलेको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहास पनि खासै फरक छैन । तथ्याङ्कले इङ्गल्यान्डलाई थोरै बलियो देखाउँछ । हालसम्म यी दुई राष्ट्रबिच कुल ७८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।

यी दुई राष्ट्रबिच हालसम्म ७८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ३८ खेलमा इङ्गल्यान्डले श्रीलङ्कालाई हराएको छ । ३६ खेलमा भने श्रीलङ्काले इङ्गल्यान्डलाई पराजित गरेको छ । एक खेल बराबरीमा सकिएको छ भने तीन खेल अनिर्णीतरुपमा टुङ्गिएको छ ।

घरेलु मैदानमा खेलिएको १८ खेलमा इङ्गल्यान्ड विजयी भएको छ भने श्रीलङ्काले १६ वटा खेल घरेलु मैदानमा जितेको छ । इङ्गल्यान्डले नौवटा खेलमा श्रीलङ्कालाई उसैको घरेलु मैदानमा हराएको छ भने श्रीलङ्काले १४ वटा खेलमा इङ्गल्यान्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

यसैगरी ‘न्यूट्रल भेन्यू’ मा इङ्गल्यान्डले ११ र श्रीलङ्काले ६ खेल जितेका छन् । यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०२१ को जुलाई ४ मा एकदिवसीय खेल भएको थियो । त्यो खेल अनिर्णीत रूपमा सकिएको थियो । सोही क्रममा खेलिएको तीन खेलको शृङ्खलामा भने इङ्गल्यान्ड २—० ले विजयी भएको थियो ।

यसैगरी एकदिवसीय विश्वकपमा हालसम्म यी दुई टोलीबिच कुल ११ वटा खेल खेलिएको छ । त्यसमध्ये ६ वटा खेलमा इङ्गल्यान्डले श्रीलङ्कालाई हराएको छ । पाँच वटा खेलमा भने श्रीलङ्काले इङ्गल्यान्डलाई पराजयको स्वाद चखाएको छ । 

ब्याट्सम्यानका लागि स्वर्ग मानिने पिच

इङ्गल्यान्ड र श्रीलङ्काबिचको खेल बेगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने छ । त्यहाँको पिच ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले एम। चिन्नास्वामी स्टेडियमको पिचलाई ‘ब्याट्सम्यानहरुको स्वर्ग’ पनि भन्ने गरिन्छ । 

त्यहाँको पिचमा बल निकै बाउन्स हुन्छ । त्यसैले बल सिधै ब्याट्सम्म आइपुग्छ । अनि ब्याट्सम्यानहरु मजाले त्यसको फाइदा उठाउँछन् । त्यो रङ्गशालामा खेलिएका अधिकांश खेलमा निकै बढी रन बन्ने गरेको पाइन्छ । 

यो स्टेडियमको बाउन्ड्री पनि तुलनात्मक रूपमा सानो छ । त्यसैले त्यहाँ चौका र छक्का पनि बढी प्रहार हुने गरेको छ । बलिङतर्फ स्पिन बलरलाई त्यहाँको पिचले केही सहयोग पुर्‍याउन सक्ने सम्भावना रहन्छ । खासगरी खेलको प्रारम्भमा स्पिनरहरुले आफ्नो क्षमता देखाउन सक्छन् ।  

हालसम्म यो स्टेडियममा ३९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १५ वटा खेल जितेको छ । दोस्रो ब्याटिङ गर्ने टोलीले भने यो स्टेडियममा २० वटा खेल जितेको तथ्याङ्कले देखाउँछ । 

त्यसैले यो स्टेडियममा टस जित्ने टोलीका कप्तानले पहिले बलिङ रोज्ने सम्भावना बढी रहन्छ । त्यहाँको पिचमा पहिलो पालीमा बनेको औसत रन दुई सय ३५ र दोस्रो पालीमा बनेको औसत रन दुई सय १८ हो । बिहीबारको खेल वर्षाको सम्भावना भने एक प्रतिशत मात्र देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप