शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाका नेताले आफ्नै पार्टीका मन्त्रीलाई भने, ‘एमालेको दूत’

कल्याणपुर नगरपालिकामा विवाद
शनिबार, ११ कात्तिक २०८०, १७ : १९
शनिबार, ११ कात्तिक २०८०

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा भइरहेको एउटा आन्दोलनलाई लिएर जनता समाजवादी पार्टी नेपालमा विवाद उत्पन्न भएको छ । जसपाका राजनीतिक समिति सदस्य सुरेश मण्डलले सोही पार्टीका राजनीतिक समिति सदस्य एवं वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोलाई एमालेको दूतको रूपमा काम गरिरहेको आरोप लगाएका हुन् । 

विगत २५ दिनदेखि विभिन्न कल्याणपुर नगरपालिकामा भइरहेको आन्दोलनलाई बिना सम्झौता टुङ्ग्याइएको आरोप लगाउँदै नेता मण्डलले मन्त्री महतोले यो आन्दोलन टुङ्ग्याएर एमालेको ऋण तिरेको आरोप लगाएका छन् । मिर्चैया नगरपालिकामा हिसाब किताबसहित परिषद् बैठकलगायत १२ बुँदे माग राख्दै एमालेबाहेकका दलहरू आन्दोलन गरिरहेका थिए । 

तालाबन्दी गरी भएको आन्दोलनलाई एकैपटक कसैलाई जानकारी नदिई बिना सम्झौता टुङ्ग्याइ दिएको आरोप नेता मण्डलको रहेको छ । ‘आन्दोलनकारीको एउटा कुनै पनि माग पुरा हुने गरी सम्झौता भएको भए त्यसलाई मान्न सकिन्थ्यो । तर उहाँले एमालेका सचिव रघुवीर महासेठको इसारामा आन्दोलनलाई टुग्याउनु भयो,’ मण्डलले भने । 

मन्त्री महतो र नेता मण्डलको चुनावी क्षेत्र (सिरहा क्षेत्र नम्बर ४) एउटै हो । गत चुनावमा मन्त्री महतो सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थिए भने नेता मण्डल प्रदेश सभा सदस्यका लािग चुनाव लडेका थिए । मण्डल चुनावमा पराजित भएका थिए । नेता मण्डल कल्याणपुर नगरपालिकाका बासी हुन् । 

यता मन्त्री महतोका प्रमुख स्वकीय सचिव चन्देश्वर पासवानले आन्दोलनकारीले राखेको अधिकांश मागमा सम्झौता भएको र केही माग कार्यपालिकासँग सम्बन्धित रहेकाले त्यसमा भोलि छलफल गरेर टुङ्गो लगाउने बताए ।  मन्त्री महतोको चुनावी क्षेत्र भएको हुनाले त्यहाँ हुने कुनै प्रकारको विवाद मिलाउने उनको दायित्व र महतोले आफ्नो दायित्व पुरा गरेको उनले बताए । 

शुक्रवार भएको छलफलमा जसपा, माओवादी, जनमतलगायतका दलका प्रतिनिधिको उपस्थितिमा सबै सम्झौता भएको हो बताउँदै नेता मण्डललाई कुन कुरामा चित्त नबुझेको आफूले बुझ्न नसकेको उनको भनाई छ । 

छलफलमा जसपा कल्याणपुर नगर अध्यक्ष दीपेन्द्र बरबरियाको समेत उपस्थिति थियो । जसपाकै नेताहरूको आग्रहमा मन्त्री महतोले यो विवाद समाधान गरेको बताउँदै स्वकीय सचिव पासवानले यसमा चित्त दुखाउने अवस्था नरहेको बताए । 

आन्दोलनको क्रममा लगाइएको मुद्दा फिर्ता लिने, नगरपरिषद् चाँडै बोलाउने, पालिकाले हिसाब किताब दिने जस्ता विषयमा सम्झौता भएको बताउँदै उनले यसमा विवाद गर्नुको कुनै तुक नरहेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप