सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
संयुक्त पत्रकार सम्मेलन

नेपालले शान्ति र बहुपक्षीय क्षेत्रमा पुर्‍याएको योगदानप्रति महासचिव गुटरेसले दिए धन्यवाद

‘जलवायु परिवर्तनका विषयमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ’
आइतबार, १२ कात्तिक २०८०, १५ : ५५
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमासको कब्जामा रहेको भनिएका विपिन जोशीसहित सबै बन्धकहरूलाई निःशर्त रिहा गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटरेसले इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको परिवारप्रति समवेदनासमेत व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा गुटरेसले भने, ‘हामी कठिन र तनावपूर्ण समयमा छौँ । मध्यपूर्वमा भएको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपालका जनताका लागि नजिक छ ।  म इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपिन जोशीको सुरक्षित फिर्ताको लागि तथा गाजामा रहेका सबै बन्धकलाई निःशर्त रिहा गर्न माग गर्दछु ।’

महासचिव गुटरेसले हमासको आक्रमणको निन्दा गर्दै गाजाको स्थिति थप जटिल बन्दै गएकोमा पनि चिन्ता प्रकट गरे । ‘मानवीय युद्धविराम गर्ने विश्व समुदायको आह्वान विपरीत इजरायलले गाजामा आक्रमण झन् तीव्र बनाएको छ । सर्वसाधारण मारिएको कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न सकिँदैन  । सबै पक्षले अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनलाई पालना गर्नुपर्छ ।’

उनले सुन्दर नेपालमा आउँदा खुसी लागेको बताए । प्रधानमन्त्री प्रचण्डसँग निकै रचनात्मक छलफल भएको बताउँदै आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे । उनले भने, ‘यहाँको आत्मीय स्वागतलाई म कहिले पनि बिर्सने छैन ।’ उनले आफू नेपाल र संयुक्त राष्ट्रबिचको सम्बन्धलाई सुदृढ बनाउन काठमाडौँ आएको खुलाए । उनले नेपालले शान्ति र बहुपक्षीय क्षेत्रमा पुर्‍याएको योगदानप्रति धन्यवाद दिए । उनले शान्ति सेनामा नेपालले दिँदै आएको योगदानको कदरसमेत गरे ।

‘पछिल्ला २० वर्षमा नेपालले धेरै प्रगति गरेको छ । देशमा गणतन्त्र स्थापना गर्नुका साथै शान्ति कायम गर्ने तथा दिगो विकासको बाटो अघि बढेको छ,’ उनले भने । कम विकसित राष्ट्रमा स्तरोन्नति हुन गइरहेको आगामी केही वर्ष नेपालका लागि महत्त्वपूर्ण हुने उनको जिकिर थियो । गुटरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग गर्न राष्ट्रसंघ सधैँ तयार रहेको स्पष्ट पारे ।

उनले नेपाल वैश्विक सङ्कटको चपेटामा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले जलवायु परिवर्तनले नेपालमा ठुलो असर पाएको बताए । ‘जलवायु परिवर्तनको प्रभाव हेर्न म आफै हिमालय क्षेत्र जाँदैछु । त्यहाँको स्थानीयलाई भेट्ने छु र कसरी प्रभावित भएका छन् भनेर बुझ्नेछु ।’ नेपालको विकासका लागि जलवायु परिवर्तन लगायतका विषयमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्ने उनको धारणा थियो । उनले आफू लुम्बिनी पुगेर बुद्धको शान्तिको सन्देश विश्वभर दिन चाहेको पनि खुलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप