बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका लागि नुन पनि घातक हो ?

आइतबार, १९ कात्तिक २०८०, ११ : ३८
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । मधुमेहका बिरामीले खान नहुने चिज सोच्दा हरेकको दिमागमा गुलियो वा चिनीयुक्त खानेकुरा आउँछ । अमेरिकामा भएको एउटा नयाँ अध्ययनले नुनतिर पनि सङ्केत गरेको छ । 

न्यू ओर्लियन्सस्थित टुलेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यूके बायोबैंकको अध्ययनबाट करिब ४ लाख वयस्कहरूको डेटा जाँच्दा यस्तो देखाएको हो । त्यसपछि सहभागीहरूको १२ वर्षसम्म निरीक्षणात्मक अध्ययन गरिएको थियो । सो समयमा करिब १३ हजार जनामा दोस्रो खालको मधुमेह भयो ।

डाइनिङ टेबलबाट नुनको बट्टा हटाउँदा दोस्रो खाले मधुमेहलाई रोक्न मद्दत गर्न सक्ने प्रेस विज्ञप्तिमा शीर्ष अनुसन्धानकर्ता ले भनेका थिए । तर यो त्यति सजिलो होला र ? पहिलो कुरा त यो निरीक्षणात्मक अध्ययन थियो । यसमा एउटाले अर्को कुरा गराएको हो भनेर प्रमाणित गर्न सक्दैन । एउटा अर्कोसँग सम्बन्धित त भनेर मात्रै सिद्ध गर्छ । कारण अन्य पनि हुन सक्छन् । त्यसैले डाइनिङ टेबलबाट नुनको बट्टा हटाएर मधुमेह रोक्न सकिन्छ भनेर भन्न पनि मिलेन ।

टुलेनको अध्ययनले नुनको प्रयोग र दोस्रो खालको मधुमेह लाग्ने सम्भावनाबिचको सम्बन्ध छ कि भनेर सङ्केत गर्छ । यो भन्दा धेरै होइन । अर्को कुरा, नुन भनेर यहाँ खाना पकाउँदाखेरि हालिने नुनबाहेकको कुरा गरिएको हो । अध्ययनमा ‘तपाई आफ्नो खानामा नुन थप्नुहुन्छ ?’भनेर सोधिएको थियो । यसको उत्तरको विकल्पहरू कहिले थप्दिन, कहिलेकाहीँ, प्राय र सधैँ भन्ने थिए । अध्ययनका क्रममा नुन थपेर नखानेको तुलनामा प्रायः र सधैँ नुन थपेर खानेहरूमा दोस्रो खालको मधुमेह हुने जोखिम क्रमशः २० प्रतिशत र ३९ प्रतिशत बढी पाइयो । यी उत्तरबाट कति नुन खाँदा दोस्रो खालको मधुमेह हुने रहेछ भन्ने अनुमान गर्न मिलेन ।

नुनको सबैभन्दा ठुलो स्रोत प्रशोधित खाना

बेलायतजस्ता देशहरूमा एक दिनमा औसत व्यक्तिले करिब ८ ग्राम वा २ चम्चा नुन खान्छन् । तर यसमध्ये पनि तीन चौथाइ नुन प्रशोधित खानेकुराबाट सेवन हुने हो । बाँकी चाँहि खाना खाने टेबलमा अलि अलि गरेर पाकिसकेपछिको खानेकुरामा थपिने हो । अध्ययनले दिनभरमा डाइनिङ टेबलमा १ ग्राम मात्रै बढी नुन खाँदा भन्दा २ ग्राम बढी नुन खाँदा दोस्रो खालको मधुमेह विकास हुने जोखिम कत्तिको बढ्छ भनेर पनि देखाउन सकेको छैन ।

अध्ययनमा अनुसन्धानकर्ताहरुले नुन सेवनको परीक्षण गर्न २४ घण्टाको अवधिमा पिसाबबाट कति नुन बाहिरियो भन्नेलगायत परीक्षणहरूको प्रयोग गरेका थिए । यो सोडियम वा नुन सेवन मापन गर्ने सबैभन्दा शुद्ध तरिका हो । पिसाबमा सोडियमको मात्रा धेरै हुनुको अर्थ दोस्रो खालको मधुमेह हुने सम्भावना उच्च छ भन्ने हुन्छ । अध्ययनमा सहभागीहरूले के खाए भन्नेबारे विचार गर्दै गरिएन । व्यक्तिमा दोस्रो खालको मधुमेह  हुने जोखिम बढाउन नुनको सिधै सम्बन्ध छ भन्ने स्पष्ट भएन । तर पिसाबमा सोडियमको उच्च मात्राले तनाव उत्पन्न गराउने हर्मोन कर्टिसोलको स्तर भने बढेको पाइयो । यसले रक्तचाप बढाएको अनि हर्मोन इन्सिुलिनको प्रभावकारिता घटाएको भेटियो ।

नुनु कम खानु राम्रो हो त ?

दोस्रो खालको मधुमेह भएका मानिसहरूमा प्रायः उच्च रक्तचाप पनि हुन्छ । यिनीहरूले कम नुन खाँदा रक्त चापमा सुधार भने आउँछ । कम नुन खानु भनेको स्वस्थ आहारको हिस्सा हो । कम नुन खाँदा दोस्रो खालको मधुमेहको जोखिम पनि घट्छ भने कम खानु त राम्रै कुरा हो नि । अध्ययनले हामीले नुन सेवन कति घटाउनु पर्छ भनेर चाँहि देखाएको छैन । तर यसले खानेकुरामा नुन थपेर खानु अनि दोस्रो खालको मधुमेह विकास हुने सम्भावनाबीच कमजोर कडी देखाएको छ । अध्ययनको नतिजा गएको बुधबार मायो क्लिनिक प्रोसिडिङ जर्नलमा सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप