शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

सिंगो कर्णाली सरकार भूकम्प प्रभावित क्षेत्रमा खटिने, तोकियो जिम्मेवारी

सोमबार, २० कात्तिक २०८०, १२ : ३८
सोमबार, २० कात्तिक २०८०

सुर्खेत। कर्णाली प्रदेश सरकारको सिंगो मन्त्रीपरिषद्को टोली भूकम्प प्रभावित क्षेत्रमा खटिने भएको छ। मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् । 

मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्रमै रहने छन् । त्यसका लागि शर्मा सोमबार बिहानैदेखि जाजरकोटमा छन् । मुख्यमन्त्री शर्मा आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुनेछन् । 

त्यस्तै अर्थमन्त्री बेदराज सिंह जाजरकोटमा रहनेछन् । उनी शनिबार देखिनै जाजरकोटमा सक्रिय रहेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्नेछन् ।

जिसीले प्रदेशबाट गर्ने आवश्यक सामाग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने छन् । उनी शनिबार देखिनै सुर्खेत विमानस्थलमा रहेर आपूर्तिको काम गरिरहेका छन्। कृषिमन्त्री भीमप्रकाश शर्मा रुकुम पश्चिम सल्यानमा खटिने भएका छन्।

यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानी लगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने छिन् । भूकम्पले क्षति पुगेका खानेपानीका योजना मर्मतदेखि मन्त्रालयबाट गर्नुपर्ने काम उनले गर्नेछिन्। उनी पनि सोमबार बिहान जाजरकोट पुग्दैछिन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने बताइएको छ । प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्ट्याएको रकम अबको केहि दिनभित्र पालिका पठाइने छ । जसका कारण पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सकिने सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप