शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

७ महिनासम्म पनि पूर्णता पाउन सकेन लुम्बिनी सरकारले

मङ्गलबार, २१ कात्तिक २०८०, १२ : १६
मङ्गलबार, २१ कात्तिक २०८०

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको सात महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धन सरकारलाई पूर्णता दिन नसक्दा सरकारका काम प्रभावकारी बन्न सकेको छैन ।

सरकारमा सामेल गर्न नेकपा माओवादी केन्द्रले दुई जनाको नाम सिफारिस गरेको छ । तर सरकार विस्तार नहुँदा उनीहरू पनि निराश देखिएका छन् । माओवादीबाट मन्त्रीमा सिफारिस भएका रोल्पाका दीपेन्द्रकुमार पुन भन्छन्, ‘हामीलाई पार्टीले सिफारिस गरेको पनि ६ महिना हुन थाल्यो, कहिले माथि मिलेन, कहिले तल मिलेन भन्दै रोकिएको छ ।’

उनले सुरुमा बजेट पास भएपछि, त्यसपछि कर्मचारी विधेयक पास गरेपछि, फेरि प्रदेशसभा अधिवेशन अन्त्य भएपछि, अनि दसैँपछि भन्दै पटक पटक भाका राख्ने काम भएको भन्दै गुनासो गरे । कांग्रेस सांसद अब्दुल रज्जाकले सरकार विस्तारको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग सोध्दा ‘अब छिटै हुन्छ’ भन्ने जवाफ पाएको नै ६÷७ पटक भइसकेको बताए । ‘जहिले पनि अब हुन्छ भन्नुहुन्छ, तर अझैसम्म सरकार विस्तार भएको छैन,’ उनले भने, ‘अब त मैले पनि सोध्न छाडेँ ।’

मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिन केन्द्रका नेताहरूसँग पटकपटक भेटघाट गरिसकेका छन् । सरकारले पूर्णता पाउन नसक्दा मुख्यमन्त्री आफैँले तीन मन्त्रालय सम्हाल्दै आएका छन् । सरकारलाई पूर्णता दिन नसकेको अवस्थामा सरकारका काम कारबाही कस्तो होला भनेर सहजै अनुमान गर्न सकिने प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बताउँछन् ।

mukhaya-mantri-karlaya-dang-1024x575 - Copy

उनले रातोपाटीसँग भने, ‘हामीले सत्ता छाडेको ७ महिना भयो, यो ७ महिनामा सरकारमा रहेको गठबन्धनले सरकारलाई नै पूर्णता दिन सक्दैन भने उनीहरूबाट जनताले के अपेक्षा गर्ने ?’

मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् ।

साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

यहाँ सत्ता गठबन्धनबिच भएको पूर्व सहमति अनुसार अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनुपर्ने हुन्छ । त्यसका लागि आवश्यक परेमा मन्त्रालय फुटाएर भए पनि सरकार विस्तार गर्न सक्ने अधिकार मुख्यमन्त्रीलाई सत्ता गठबन्धनले दिएको थियो ।

तर अहिलेसम्म सरकार विस्तारका लागि मुख्यमन्त्रीले चासो नदिएको माओवादीबाट मन्त्रीका लागि सिफारिस भएकी कृष्णा केसीको भनाइ छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा गिरीले अन्य प्रदेश सरकारले पूर्णता पाउने तर लुम्बिनीमा पूर्णता पाउन नसक्दा नकारात्मक सन्देश जाने बताइन् ।

दसैँपछि सरकार विस्तार गर्ने भनिएको भाका तिहारपछिका लागि सरेको छ । हाल मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अमेरिका गएका छन् । उनी कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले तिहार यता सरकार विस्तारको सम्भावना कम रहेको रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप