शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
एन्फा विशेष साधारणसभा

असफल भयो अविश्वास प्रस्ताव, अध्यक्ष नेम्वाङको पद जोगियो

बिहीबार, २३ कात्तिक २०८०, १४ : ४८
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ । मकवानपुरको हैटौँडामा बिहीबार सम्पन्न एन्फाको विशेष साभारणसभामा भएको मतदानबाट अविश्वासको प्रस्तावलाई असफल भएको हो ।

मतदानमा ८७ मध्ये कुल ५३ मत खसेको थियो । त्यसमध्ये एक मत बदर भएको थियो । मतदानमा अविश्वासको प्रस्तावको पक्षमा एक मत पनि खसेन ।

अविश्वासको प्रस्ताव असफल भएसँगै अध्यक्ष नेम्वाङको पद जोगिएको छ । नेम्वाङले एन्फा अध्यक्ष पदमा निरन्तरता पाउने भएका छन् । 

केही समयपछि नै नेम्वाङ पक्षले पत्रकार सम्मेलन गर्ने भएको छ । यसका अतिरिक्त असन्तुष्ट पक्षले पनि छुट्टै पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा एन्फाको विशेष साधारणसभा भएको थियो । 

असन्तुष्ट पक्षको विरोधको बावजुद विशेष साधारणसभामा मतदान पक्रिया अघि बढाइएको थियो । यसअघि असन्तुष्ट पक्षले आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेपछि विशेष साधारणसभामा असहज स्थिति सृजना भएको थियो । 

अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनुपर्ने माग राखेका थिए ।

सोही विषयलाई लिएर सभा हलभित्र होहल्ला पनि सुरु भएको थियो । त्यसैले विशेष साधारणसभा स्थलमा ठूलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

विशेष साधारणसभाको माग गर्ने पक्षले नियमसम्मत तरिकाले साधारणसभा सञ्चालन नभए आफूले बहिष्कार गर्नेसम्मको चेतावनी दिएका थिए । 

विशेष साभारणसभा विहान ८ बजे बोलाइएको थियो । तर, निर्धारित समयभन्दा करिब चार घन्टापछि मात्र विशेष साधारणसभा सुरु भएको थियो ।

हेटौँडास्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नगरी सिधै सभालाई अगाडि बढाइएको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारणसभाको अध्यक्षता गर्न नमिल्ने अवस्था थियो । सोही कारणले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले विशेष साधारणसभाको अध्यक्षता गर्नुपर्ने थियो । तर, खड्काले विशेष साधारणसभाको अध्यक्षता गर्न नमानेपछि उद्घाटन सत्र नै गरिएन ।  

एन्फा इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने नेम्वाङ पहिलो अध्यक्ष हुन् । एन्फा कार्यसमितिको असोज तेस्रो साता बसेको बैठकले विशेष साधारणसभामा अध्यक्षविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई मात्र निर्णयार्थ प्रस्तुत गर्ने निणर्य गरेको थियो । 

महासचिवविरुद्धको बर्खास्तीको प्रस्ताव भने विशेष साधारणसभामा प्रस्तुत नगर्ने निणर्य त्यो बैठकले गरेको थियो ।

अध्यक्षविरुद्धको अविश्वास प्रस्तावमा मात्र कार्यसमितिको अधिकार क्षेत्रभित्र पर्ने भएकाले महासचिवको बर्खास्तीको प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निणर्य एन्फा बैठकले गरेको थियो ।

गत भदौ २५ गते एन्फाका ४८ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए । उनीहरुले वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासायी बनाउन लागिपरेको र उनीहरुलाई सो पदमा निरन्नरता दिँदा नेपाली फुटबलको भविष्यमाथि नै क्षति पुग्ने आरोप लगाएका थिए । 

अध्यक्ष र महासचिवको बर्खास्तीको माग गर्नेहरुले विभिन्न १९ बुँदे आरोप लगाउँदै उनीहरुले समग्र फुटबललाई नै संकटतर्फ लगिरहेको आरोप लगाएका थिए । असन्तुष्ट पक्षले क्लबहरुको मताधिकारी कुण्ठित गरेको आरोप पनि लगाएका छन् । 

महिला लिग सञ्चालन गर्न नसकेको, जिल्लामा अनुदान दिन नसकेको, प्रतियोगिता आयोजना गर्न नसकेको, फिफाबाट पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिता आयोजनाका लागि रकमान्तर गरेको, खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न नसकेको, नेपाली फुटबललाई धरासयी बनाएको लगायतका आरोप अध्यक्ष र महासचिवमाथि लगाइएको छ । 

एन्फाका एक सय पाँचमध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको छ । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्बाङ पद मुक्त हुनेछन् ।

विशेष सधारणसभाको निरीक्षणका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिको पनि उपस्थिति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप