शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

प्रहरीले लियो सानु भण्डारीसहित ५ जनासँग बयान

थप १७ वटा जाहेरी दर्ता
बिहीबार, २३ कात्तिक २०८०, १६ : १०
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले थुनामा रहेका ५ जना आरोपितहरूसँग बयान लिएका छन् ।

‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछौँ’ भनेर रकम उठाएको आरोप लागेका पाँच जनासँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए । जेलबाट झिकाएर टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा सानु भण्डारी, रामशरण केसी, केशव दुलाल, आङटावा शेर्पा र सागर राईसँग बयान लिइएको हो । पाँच जना आरोपितहरू जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागि थुनामा छन् । पहिलो चरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना थुनामा छन् ।

२०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेर प्रहरीले पहिलो चरणको अनुसन्धान पुरा गरेको थियो । सङ्गठित ठगी मुद्दामा ६० दिन अनुसन्धान गरेर प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

शरणार्थी प्रकरणमा अहिले प्रहरीमा १७ थान जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद आङटावा शेर्पाविरुद्ध दोस्रो चरणमा एकजनाले जाहेरी दिएका छन् । शेर्पाले प्रहरीसँगको बयानमा ती पीडितसँग हाइड्रोपावरमा लगानी गर्ने प्रयोजनका लागि रकम लिएको बयान दिएका छन् । उनले बयानमा भनेका छन्–‘जाहेरवालासँग १२ लाख लिएको थिएँ, त्यसमध्ये ११ लाख फिर्ता गरिसकेको छु ।’

इन्कारी बयान

शरणार्थी प्रकरणमा संलग्नरु सबैले इन्कारी बयान दिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘पाँच जना प्रतिवादीहरूले शरणार्थी बनाएर अमेरिका पठाउने भनेर रकम लिएको कुरा अस्वीकार गरेका छन् ।’ यसअघि एकले अर्कोलाई पोल गरेका प्रतिवादीहरूले अहिले कसैलाई पोल गरेका छैनन् ।

अनुसन्धान अधिकृतहरूले प्रतिवादीहरूको सिडिआर (कल डिटेल्स रेकर्ड) एनालाइसिस गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप