विश्वकपमा पाकिस्तान र इंग्ल्याण्डबिच सधैँ कडा टक्कर
कोलकाता । एकदिवसीय विश्वकप २०२३ को अन्तिम डबल हेडर आज खेलाइँदैछ । आजको दोस्रो खेलमा पाकिस्तानले साबिक विजेता इंग्ल्याण्डको सामना गर्नेछ । खेल कोलकाताको इडेन गार्डेनमा दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।
८ खेलमा ४ जित र ४ पराजयपछि ८ अंकसहित पाकिस्तान अंक तालिकाको पाँचौँ स्थानमा छ । ८ खेलमा २ जितमा ४ अंक जोडेको इंग्ल्याण्ड ७ नम्बरमा छ । आजको खेल जितेर इंग्लिस टोली च्याम्पियन्स ट्रफीका लागि छनोट हुनेछ ।
उता पाकिस्तानले सेमिफाइनलमा पुग्ने हो भने विश्वकपबाट बाहिरिएको इंग्ल्याण्डलाई लगभग असम्भव अन्तरले हराउनुपर्छ । पाकिस्तानले इंग्ल्याण्डविरुद्ध पहिले ब्याटिङ गरेमा २८७ रनले जित्नुपर्नेछ । यदि पाकिस्तानले लक्ष्य पछ्याउने हो भने २७८ देखि २८४ बल बाँकी छँदै लक्ष्य पछ्याउनुपर्नेछ । अर्थात् लक्ष्य अनुसार उसले १६ देखि २२ बल भित्र खेल जित्नुपर्नेछ ।
विश्वकपमा बराबरीको प्रतिस्पर्धा
एकदिवसीय विश्वकपमा दुई टोलीबिच १० खेल भएका छन् जसमध्ये पाकिस्तानले ५ र इङ्ल्यान्डले ४ खेल जितेको थियो । एक खेलमा भने नतिजा आउन सकेन ।
यी दुईबिचको एकदिवसीयमा ९१ खेलमा पाकिस्तानले ३१ र इंग्ल्याण्डले ५६ खेल जितेको थियो । अन्य खेलमा भने कुनै नतिजा निस्केन ।
भर्खरको फार्मका आधारमा पाकिस्तानको अग्रता देखिन्छ तर पछिल्लो खेल जितेर इंग्ल्याण्ड पनि आत्मविश्वासले भरिपूर्ण हुनेछ ।
एकदिवसीय विश्वकप २०२३ मा नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानले आफ्नो यात्राको उत्कृष्ट सुरुवात गरेको थियो । यसपछि दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । त्यसपछि टोलीले लगातार चार खेलमा हार बेहोरेको थियो । पाकिस्तान भारत, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । तर, टोलीले पछिल्लो दुई खेलमा बंगलादेश र न्युजिल्याण्डविरुद्ध लगातार जित हात पारेको छ ।
पाकिस्तानका मोहम्मद रिजवान टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको नाममा ८ खेलमा एक शतक पनि छ । उनले ३५९ रन बनाएका छन् । टिमका सर्वाधिक विकेट लिने बलर शाहिन शाह अफ्रिदीको नाममा १६ विकेट रहेको छ ।
इंग्ल्याण्डले ८ खेलमध्ये २ मात्रै जितेको छ
हालको च्याम्पियन इंग्ल्याण्डको यो विश्वकपमा राम्रो सुरुवात हुन सकेन । पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । त्यसपछि लगातार पाँच खेलमा हार बेहोरेको थियो । पछिल्लो खेलमा इंग्ल्याण्डले नेदरल्यान्ड्सलाई हराएको थियो ।
इंग्ल्याण्डका लागि डेभिड मलानले सर्वाधिक ३७३ रन बनाएका छन् । १३ विकेट लिने आदिल रसिद टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
पिच रिपोर्ट
कोलकाताको इडेन गार्डेन स्टेडियमको विकेट ब्याटिङका लागि सधैं सहयोगी रहँदै आएको छ । यस विश्वकपमा अहिलेसम्म यहाँ ३ खेल खेलिएका छन् । यहाँ कुल ३४ एकदिवसीय खेलिएको छ। पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले १३ खेल जितेका छन्। एक खेल भने नतिजा आउन सकेन ।
यस मैदानमा उच्चतम स्कोर ४०४ रन हो, जुन भारतले सन् २०१४ मा श्रीलंकाविरुद्ध बनाएको थियो। सबैभन्दा कम स्कोर ८३ रन हो, जुन यस विश्वकपमा दक्षिण अफ्रिकाले भारतविरुद्ध बनाएको थियो।
मौसम पूर्वानुमान
शनिबार कोलकाताको मौसम सफा हुनेछ। वर्षाको सम्भावना १% छ। यस अवधिमा हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ । तापमान २१ देखि ३२ डिग्री सेल्सियस सम्म हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण