मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा

शुक्रबार, ०१ मङ्सिर २०८०, १९ : १५
शुक्रबार, ०१ मङ्सिर २०८०

सान फ्रान्सिस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गरेका छन् । दुई महाशक्तिबीचको तनाव कम गर्न दुवै नेताबीच भेट भएको एक दिनपछि उनीहरूले त्यस्तो प्रयास गरेका हुन् । 

“हामी कतै जाँदैनौँ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भने । उनले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने बताए ।

दुवै नेता सैन्यदेखि सैन्य सम्बन्ध पुनःस्थापित गर्न सहमत भएका छन् । राष्ट्रपति सीले फेन्टेनल औषधिका लागि चीनमा यसको उत्पादनलाई रोक्ने वाचा गरे । 

“विश्वका दुई ठूला अर्थतन्त्रबीचको स्थिर सम्बन्ध ती दुई अर्थतन्त्रका लागि मात्र नभई विश्वका लागि राम्रो हुन्छ”, बाइडेनले भने । यद्यपि तनाव कम भए पनि बाइडेनले एपेकका २१ मुलुकमध्ये धेरैका लागि बेइजिङको तुलनामा वासिङ्टन राम्रो सहयोगी हुने बताए । 

सीले आफूलाई बुधबार ‘किन हामी प्रशान्तमा यति व्यस्त छौँ’ भनेर प्रश्न गरेको उल्लेख गर्दै बाइडेनले भने, “मैले भनेँ, किनभने हामी प्रशान्त मुलुक हौँ, हाम्रो कारणले यस क्षेत्रमा शान्ति र सुरक्षा भएको छ, यसले तपाईंलाई विकास गर्न अनुमति दिएको छ, उहाँ असहमत हुनुभएन ।”

क्यानाडाको तटबाट चिली, अस्ट्रेलिया, मलेसिया र रुससम्म फैलिएको विशाल गतिशील क्षेत्रमा प्रभाव हासिल गर्न चीन र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन् । चीनले आफ्नो बेल्ट एन्ड रोड कार्यक्रममार्फत पूर्वाधार र ऋण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अमेरिकाले पनि व्यापार र अन्य सम्झौतामार्फत गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहेको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप