आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा फस्टाउँदै बिहेको फोटो च्यात्ने व्यवसाय

आइतबार, ०३ मङ्सिर २०८०, १४ : २३
आइतबार, ०३ मङ्सिर २०८०

बेजिङ । चीनको शाङतोङ प्रान्तमा बिहेको फोटो च्यात्ने एउटा व्यवसाय धुमधामसँग चलिरहेको छ । सम्बन्ध विच्छेद गरेका जोडीलाई यो अफलाइन व्यवसायले सस्तो र प्रभावकारी रुपमा आफ्नो बिहेको फोटो नष्ट गर्ने सेवा दिइरहेको छ । वैवाहिक सम्बन्ध बिग्रिएपछि बिहेको फोटो च्यात्नु चीनमा सोचे जस्तो सहज छैन ।

चीनमा बिहेको फोटोलाई बलियो खालको आकर्लिक क्यानभासमा अमर बनाएर राख्ने चलन छ । त्यसैले सम्बन्ध विच्छेद गरेका जोडीसामु बिहेको फोटोबाट छुट्कारा पाउन फोहोरको थुप्रोमा फ्याक्नेलगायत थोरै मात्रै विकल्प छन् । फोटो फोहोरको थुप्रोमा फ्याक्दा अरुले तस्बिरमा भएको व्यक्ति चिन्ने भयले मानिसहरु फोटो हत्तपत्त फ्याँक्दैनन् । जिउँदो मान्छेको फोटो जलाउनै मिलेन र साथमा राख्नु पनि पीडादायक नै भयो । यस्तोमा शाङतोङ प्रान्तमा नयाँ विजनेश भेञ्चर उदायो । कम्पनी लिउ थरका एक पुरुषले खोलेका हुन् । यो कम्पनीको विशेष सेवा नै गोपनियताको सुरक्षा गर्दै बिहेको फोटो च्यात्नु हो ।

गोपनीयतालाई विचार गरेर आफूले यो कम्पनी शुरु गरेको लिउले बाइलु भिडियोमा भनेका छन् । बिहेको फोटो व्यक्तिगत गोपनियताको चिजमा पर्छ । त्यसैले पनि आफूले दिइरहेको सेवाको माग धेरै भएको विश्वास ती पुरुषले गरेका छन् । अहिले तिब्बतबाहेक चीनको हरेक प्रान्त र नगरपालिकाबाट बिहेको फोटो नष्ट गरिदिन आफूहरुलाई अर्डर आइरहेको लिउले बताएका छन् । उनको कम्पनीले फोटोको आकार हेरेर १० येन देखि सय येनसम्मको शुल्क लिएर फोटो नष्ट गरिरहेको छ ।

फोटोमा भएको व्यक्ति नचिनिउन भनेर कम्पनीका कर्मचारीहरूले शुरुमा तस्बिरमा रंग छर्किदिन्छन् अनि फोटोलाई श्रेडिङ मेशिनमा हालिदिन्छन् । यो सबै प्रक्रियाको भिडियो बनाएर कम्पनीले ग्राहकलाई प्रमाणको रुपमा भिडियो पठाइदिन्छ । चीनमा अन्धविश्वासका कारण मानिसहरू फोटोलाई जलाउँदैनन् । यस्तोमा सम्बन्ध विच्छेद गरेर पुरानो जीवनसाथीसँगको आफ्ना यादहरु मेटाउन चाहने जोडीका लागि लिउको कम्पनीले राम्रो विकल्प दिइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप