मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

वीर अस्पतालमा क्यान्सरको उपचार गर्ने टोमोथेरापी मेसिन किन थन्कियो ?

बुधबार, ०६ मङ्सिर २०८०, ०८ : ०७
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । वीर अस्पतालले क्यान्सरको उपचार गर्ने नयाँ  टोमोथेरापी मेसिन ल्याएको तीन महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन ।

सञ्चालन नै नभइ बिग्रिएर साढे चार वर्षदेखि सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्क्याइएको टोमोथेरापी मेसिन सटही गरी नयाँ मेसिन प्राप्त गरे पनि अस्पतालले प्रयोगमा ल्याउन नसकेको हो ।

टोमोथेरापी मेसिन क्यान्सरको उपचार गर्ने अत्याधुनिक मेसिन भएको रेडियोलोजिष्टहरू बताउँछन् । भदौ १८ मा टोमोथेरापी मेसिन प्राप्त गरे पनि प्राविधिक जनशक्ति र केही उपकरणको अभाव भएकाले तत्काल सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए ।

‘नेपालमा टोमोथेरापी मेसिन पहिलो पटक ल्याइएको हो । यो अत्याधुनिक मेसिन भएकाले जडान गर्ने प्रक्रिया, मेसिनको परीक्षण, मेसिन सुचारुका लागि प्रविधिक लगायतको व्यवस्थापन गर्नुपर्छ, त्यसैले ढिला भएको हो,’ निर्देशक पौडेलले भने ।

टोमोथेरापी मेसिनसँगै आउने सामान इमोबिलाइजेसन डिभाइस अर्थात् मेसिनभित्र बिरामीलाई राख्दा हलचल नगरिकन राख्ने सामान आउन ढिलाइ भएपछि अस्पतालले ताकेता गरिरहेको उनले बताए ।

उनले भने, ‘सो कम्पनीले दुई साताभित्र सो डिभाइस पठाइसक्ने जानकारी दिएको छ ।’

निर्देशक पौडेलका अनुसार टोमोथेरापी मेसिनको परीक्षण सकिएको छ । अब डमी बिरामीमा परीक्षण गर्न बाँकी छ । यो मेसिन प्रविधिक हिसावले ठिक छ भन्ने पुष्टि भएको छ ।

रेडियोथेरापीमा काम गर्ने ४ जना भारतबाट टोमोथेरापी मेसिन सञ्चालनबारे तालिम लिएर फर्किसकेको उनले सुनाए । मंसिर महिनाभरिमा मेसिन सञ्चालनसम्बन्धी सम्पूर्ण प्रक्रिया सकिने उनको भनाइ छ ।

पौडेलले भने, ‘मंसिर महिनापछि टोमोथेरापी मेसिन सञ्चालन गर्ने तयारीका साथ लागिपरेका छौँ ।’

टोमोथेरापी मेसिन सञ्चालन गर्न चार जना रेडियोग्राफर, दुई जना मेडिकल फिजिसिस्टर, रेडियसन अंकोलोजिस्ट र पाँच जना अन्य चिकित्सक आवश्यक पर्ने भएकाले व्यवस्थापनका लागि प्रयास गरिरहेको उनले बताए ।

२०७५ फागुनमा क्यान्सर रोग उपचारका लागि टोमोथेरापी मेसिन ४० करोडमा खरिद गरिएको थियो । साढे चार वर्ष अगाडिदेखि अस्पतालले क्यान्सर रोगका बिरामीको उपचारका लागि सो उपकरण ल्याए पनि प्रयोगमा ल्याउन नमिल्ने गरी बिग्रिएको थियो ।

अमेरिकी एकुरे कम्पनीले टोमोथेरापी मेसिन निर्माण गरेको हो । वीर अस्पतालमा २५ वर्ष पहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि रेडियोथेरापी सेवा ठप्प छ ।  

टोमोथेरापी मेसिनले के गर्छ ?

वीर अस्पतालमा बर्सेनि १७ देखि २१ हजारसम्म क्यान्सरका बिरामी आउने गर्छन् । जसमध्ये आधालाई रेडियोथेरापी गर्नु पर्छ ।

क्यान्सर भएका बिरामीलाई टोमोथेरापीबाट रेडियोथेरापी गर्दा क्यान्सरका कोषिकालाई मात्रै मार्ने अस्पतालका निर्देशक डा पौडेलले बताए । उनका अनुसार शरीरका भित्री कोषका सुक्ष्म क्यान्सरको   उपचार गर्न टोमोथेरापी मेसिन प्रभावकारी हुन्छ । यसबाट   निस्किने विकिरणले क्यान्सर लागेको ठाउँका सेलहरूलाई मार्छ ।

०७२ मा रेडियोथेरापी मेसिन बिग्रिएपछि वीर अस्पतालमा क्यान्सरको उपचार गराए पनि रेडियोथेरापीका लागि बिरामी अन्यत्र जान बाध्य छन् ।

यस अत्याधुनिक टोमोथेरापी मेसिनबाट दैनिक ७० भन्दा बढी क्यान्सर बिरामीको रेडियोथेरापी गर्न सकिने उनले बताए ।

वीरमा क्यान्सरको उपचार गर्न र रेडियोथेरापीका लागि अन्य अस्पतालमा महिनौँसम्म लाइन बस्नुपर्ने बाध्यता टोमोथेरापी मेसिन सञ्चालनमा आएपछि अन्त्य हुने निर्देशक पौडेललको जिकिर छ ।

सिटीस्क्यान सेवा सुचारु

वीर अस्पतालमा बन्द भएको सिटीस्क्यान सुचारु भएको छ । ‘एक्स–रे फिल्म’नहुँदा चार दिनसम्म बिरामीले सास्ती खेपेको निर्देशक पौडेलले बताए ।

‘एक्स रे फिल्म’ मौज्दात कम भएकोले एउटा सिटीस्क्यानबाट मात्रै सेवा दिइएको थियो ।

भाजुरत्न मेडिसेल्स नामक कम्पनीले सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म समयमै उपलब्ध गराउन नसक्दा सेवा प्रभावित भएको अस्पताल स्रोतको भनाइ छ ।

हाल दुवै सिटीस्क्यानबाट दैनिक ९० देखि १०० जनाले सेवा लिने  गरेको पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप