सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईं आन्दोलन

राज्यसँग असन्तुष्ट जनताको ठुलो समूह बल्खुमा, नेतृत्व प्रभावकारी नहुँदा भीड अराजकता उन्मुख

बिहीबार, ०७ मङ्सिर २०८०, १८ : ३४
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । बिहीबार काठमाडौँको बल्खु क्षेत्र दिनभरजस्तो तनावग्रस्त बन्यो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको जुलुसमा देशका विभिन्न भागबाट आएका सहभागीहरुले गणतन्त्र विरुद्ध नाराबाजी गरेका थिए ।

जुलुसमा सहभागी अधिकांशले नेपालको झण्डा लिएका थिए । राजावादीहरुको बाक्लो सहभागिता रहेको प्रदर्शनमा राजतन्त्रको पक्षमा नारा लागेको थियो ।

बिहान ११ बजेदेखि बल्खु चोकमा दुर्गा प्रसाईं समर्थितहरु भेला हुन थालेका थिए । सरकारले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै तीनकुने, बल्खु लगायतका क्षेत्रमा प्रदर्शन गर्न दिने भएपछि प्रसाईंले बल्खु क्षेत्र रोजेका थिए । तीनकुने क्षेत्रमा एमालेको युवा संघले कार्यक्रम गरेको थियो ।

मध्याह्न १२ बजेदेखि बल्खु क्षेत्रमा काठमाडौँका विभिन्न क्षेत्रबाट प्रदर्शनकारी पुगेका थिए ।

प्रसाई समूह र यूवा संघका कार्यकर्ताबिच पहिलो ढुङ्गा हानाहान

तीनकुनेको कार्यक्रममा सहभागी हुन कालीमाटी, कुलेश्वर, बल्खु हुँदै युवा संघका कार्यकर्ता मोटरसाइकल ¥याली गर्दै जाँदै थिए । युवा संघका कार्यकर्ताको पहिलो समूह र प्रसाई समर्थकबिच एक अर्काविरुद्ध नाराबाजी चलेको थियो ।

युवा संघको अर्को समूह पनि मोटरसाइकल ¥याली गर्दैै कालीमाटी तर्फबाट बल्खु चोक छेउ आइपुग्यो । बल्खु चोकमा रहेका प्रसाईंका समर्थकहरुले एमाले कार्यकर्तामाथि ढुङ्गा प्रहार गरेपछि दुई पक्षबिच नै ढुङ्गा हानाहान भयो । दुई पक्षबिचमा झडप भएपछि युवा संघका कार्यकर्ताहरु कालीमाटी हुँदै तीनकुनेतर्फ फर्केका थिए ।

सिंहदरबार जान खोजेपछि प्रहरीसँग झडप

बल्खु चोकमा ठुलो संख्यामा प्रसाईंका समर्थकहरु गणतन्त्रको विरुद्धमा नारा लगाइरहेका थिए । प्रहरीको काँडेतारको छेकबार छेउमा रहेको भीड भने प्रहरीलाई धकेलेर अघि बढ्न खोजिरहेको थियो ।

प्रहरीले सानेपातर्फ, कुलेश्वरतर्फ, कीर्तिपुर जाने बाटोतर्फ र कलंकी जाने बाटो छेकेर बसेको थियो । साथै बल्खु चोकको बिचमा पनि घेराबार राखेर कलंकीतर्फ र सानेपातर्फ रहेका प्रदर्शनकारीलाई भेट हुन दिएको थिएन ।

प्रदर्शनकारीको भीडले प्रहरीको काँडेतारको घेराबार ठेल्दै गएपछि प्रहरीले बल्खु चोकको बिच भागबाट खाली गरेर कालीमाटी जाने बाटोतर्फ प्रहरी संख्या बढाएको थियो ।

प्रसाईं समर्थित एक समूह गाडीमा माइकबाट नारा लगाउँदै बल्खु चोकमा आइपुगेको थियो । सो गाडीमा सवार व्यक्तिहरुले कालीमाटी हुँदै सिंहदरबार घेर्न जाने बताएपछि प्रहरीको ठुलो संख्या कालीमाटीतर्फ तैनाथ गरिएको हो । प्रदर्शनकारीले माइकिङ गरिरहेको गाडी कालीमाटीतर्फ सोझ्याएपछि प्रहरीले गाडीको साँचो खोसेको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी सुरु भएको थियो ।

दोस्रो पटक साँचो खोसिएपछि प्रदर्शनकारीले पछाडिबाट गाडी ठेलेर लैजान खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हान्न थालेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि इँटा र ढुङ्गा बर्साएका थिए । प्रहरीतर्फबाट पनि ढुङ्गा प्रहार हुँदा केही प्रदर्शनकारी घाइते भएका थिए ।

दिउँसो झन्डै ३ घण्टा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी चलेको थियो ।

नेतृत्व नहुँदा अस्तव्यस्त प्रदर्शन, राजावादी बढी आक्रामक

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनमा देशका विभिन्न भागबाट थरी–थरीका उद्देश्य बोकेका मानिस आन्दोलनमा सहभागी थिए । कट्टर राजावादी, हिन्दु राष्ट्र नेपाल पक्षधर र लघुवित्त संस्थाबाट ऋण लिएर समस्यामा परेका मानिसहरु जुलुसमा सहभागी थिए ।

राजतन्त्र पक्षधर रहेका प्रदर्शनकारी प्रहरीसँगको झडपको अग्रभागमा थिए । उनीहरुले गणतन्त्र धोका हो भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

प्रदर्शनमा नेतृत्वको अभाव हुँदा प्रहरीको घेरा तोड्ने विषयमा केही व्यक्ति शान्तिपूर्ण प्रदर्शन गर्न भनिरहेका थिए भने कोही प्रहरीको घेरा तोड्न उकास्दै थिए । कहाँ कसरी प्रदर्शन गर्ने भन्नेबारे स्पष्ट योजना नहुँदा भीड अराजकता उन्मुख भएको थियो ।

साउन्ड सिस्टमको व्यवस्था नगरी भाषण गर्न पुगेका प्रसाईं १ घण्टा गाडीभित्रै बसे

बल्खुमा बिहान १० बजेदेखिनै प्रसाईंका समर्थकहरु भेला हुन थाले पनि कहाँ प्रदर्शन गर्ने, कहाँ कार्यक्रम गरेर सम्बोधन गर्ने भन्ने कुनै कुराको निश्चित थिएन । जुलुसको मुख्य आयोजक रहेका प्रसाईंले कहाँ बसेर सम्बोधन गर्छन् भन्ने धेरेको चासो थियो । उनका समर्थकहरु दुर्गा दाइले कहाँ बोल्ने हो भनेर सञ्चारकर्मीलाई सोधिरहेका हुन्थे तर उनले सम्बोधन गर्ने न कुनै स्थल तोकिएको थियो, न साउण्ड सिस्टमको नै व्यवस्था थियो ।

अपराह्न बल्खुको सानेपा क्षेत्रमा पुगेका उनी आफ्नो आह्वानमा आएका प्रदर्शनकारी देखेर हौसिए तर बोल्नका लागि साउन्ड सिस्टमको व्यवस्था थिएन । साउन्ड सिस्टम मगाएर १ घण्टाभन्दा बढी कुरेपछि उनले उत्तेजक भाषण गरेका थिए ।

उनले भोलिदेखि नेताहरुलाई जहाँ भेट्नुहुन्छ, त्यहीँ भकुर्नुस् भन्दै उत्तेजक भाषण गरेका थिए । उनले आफू यो विद्रोहबाट नभाग्ने बरु मर्न तयार भएको बताए ।

आन्दोलनको स्पष्ट उद्देश्य नभएकोमा आन्दोलनमा आएका कतिपय प्रसाईंप्रति असन्तुष्ट समेत देखिए । सिन्धुलीबाट प्रदर्शनमा आएका लवकुश खड्काले भने, ‘यो राजा ल्याउन गरिएको आन्दोलन हो वा बैंकको ऋण मिनाहाका लागि हो भन्ने प्रस्ट छैन । उहाँदेखि आइएको छ, भोलि पनि प्रदर्शन हुने हो वा हैन, अहिलेसम्म कसैले केही भनेको छैन ।’

प्रदर्शनको मुख्य नेतृत्व गरिरहेका प्रसाईंले नै उनले थालेको यो अभियानको अन्तिम बिन्दू के भन्ने बारेमा प्रस्ट बताएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप