शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईं भर्सेस युवा संघ

सुरक्षा रिपोर्ट : दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी

युवा संघको कार्यक्रममा सहभागी ७ हजार
बिहीबार, ०७ मङ्सिर २०८०, १९ : ०७
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँमा नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् । निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । 

युवा संघले तीनकुनेमा आयोजना गरेको प्रदर्शन भन्दा बल्खुको प्रदर्शन हिंसात्मक देखिएको छ । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघरमा ‘निषेधाज्ञा’ जारी गरेको थियो ।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन् । गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीसँग भने–‘बल्खुमा ९ हजार भन्दा केही बढी प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायको छ ।’ 

तीनकुनेमा युवा संघले गरेको प्रदर्शनमा ७ हजारको सङ्ख्यामा सहभागिता रहेको सुरक्षा निकायको आकलन छ । गृह मन्त्रालयका ती अधिकृतले भने–‘युवा संघको कार्यक्रममा ७ हजार हाराहारीमा सहभागिता रहेको आकलन छ ।’   

३ पटक झडप 

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता बिच एकपटक र प्रहरीसँग दुई पटक झडप भएको छ । प्रदर्शन सुरु हुनुअघि नै बल्खु चोकमा प्रसाईं समर्थक समूह र युवा संघका कार्यकर्ता बिच झडप भएको हो । कीर्तिपुरबाट तीनकुनेतर्फ आउँदै गरेका युवा संघका कार्यकर्तालाई प्रसाईं समर्थक सन्तोष राजावादी सहितका युवाहरूले ढुंगा हानेपछि झडपको अवस्था आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘सन्तोष राजवादी सहितका युवाहरूले ढुंगा हानेपछि झडपको अवस्था सिर्जना भएको थियो ।’ बल्खु स्थित पुलमा भएको सो ढुंगा हानाहानबाट केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

दुर्गा प्रसाईंले प्रदर्शन स्थलमा सम्बोधन गरेर हिँडेपछि आन्दोलनकारी र प्रहरी बिच दुईपटक झडप भएको छ । सुरक्षा कर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू कालिमाटी तर्फ जान खोजेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले भने–‘प्रदर्शनकारीहरू माइतीघर तर्फ जाने भन्दै घेरा तोड्न लागेपछि झडपको अवस्था आयो ।’ 

प्रहरीको घेरा तोडेर प्रदर्शनकारी कालिमाटी तर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेर रोकेको थियो । आन्दोलनकारी चढ्ने गाडीको साँचो पनि प्रहरीले खोसेको आरोप छ ।

त्यसपछि प्रदर्शनकारी बल्खु पुलबाट एकान्तकुनातर्फ, कीर्तिपुर त्रिवि गेटतर्फ र कलङ्कीतर्फ तितरबितर भए । तर, केही बेरमा फेरी कालीमाटी जाने मोडमा फेरी झडप सुरु भयो । तेस्रो पटकको झडपमा प्रहरीले पानीको फोहरा हानेर स्थिति नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन १५७ सेल अश्रुग्याँस र १ राउन्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप