शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेट : लगातार दोस्रो जितसँगै आर्मी सेमिफाइनलमा

मङ्गलबार, १२ मङ्सिर २०८०, १६ : ५१
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । लगातार दुई खेल जित्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आर्मी क्लबले मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई ३९ रनले पराजित गर्‍यो । 

समूह ‘डी’ अन्तर्गतको उक्त खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । ठुलो विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय ४७ रन मात्र बनाउन सक्यो । 

पोखरा रंगशालामा खेलिएको उक्त खेलमा पहिले ब्याटिङ गरेको आर्मी क्लबका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले ५० रन बनाए । उनले केवल ४१ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए । 

सन्तोष र कप्तान विनोद भण्डारीले ओपनिङ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । विकेटकिपर ब्याट्सम्यान भण्डारी भने १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

चौथो नम्बरमा क्रिज समाल्न ओर्लिएका भीम सार्कीले पनि आर्मी क्लबका लागि अर्धशतक बनाए । उनले टोलीको खातामा ५३ रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका भीमले केवल २४ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए । 

त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान रोहित पौडेलले पनि १५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कुशल मल्ल र सन्दीप रजाली सात—सात रन बनाउँदै आउट भए । 

विवेक यादव र बसिर अहमद एक—एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । सोमपाल कामी तीन र साहब आलम आठ रनमा अविजित रहे । कोशी प्रदेशका बलरहरूको खराब बलिङको फाइदा उठाउँदै आर्मी क्लबले अतिरिक्त रूपमा १६ रन पाएको थियो । 

कोशी प्रदेशका बलर श्रवण यादवले तीन विकेट लिएका थिए । उनले चार ओभरमा ३२ रन खर्चिएका थिए । कमल खत्रीले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा ३३ रन खर्चिएका थिए । प्रकाश कार्की र सोनु मण्डलले एक—एक विकेट कुम्ल्याए । 

जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशका लागि ओपनर ब्याट्सम्यान सोनु अन्सारीले ४४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ३३ बलमा दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । अर्का ओपनर अङ्कित सुवेदी भने शून्य रनमै पेभेलियन फर्किए । उनी टोलीका कप्तान पनि हुन् ।

विकेटकिपर ब्याट्सम्यान मनिष थापाले टोलीको खातामा १६ रन थपे । समीर कार्कीले ३४ रन बनाएका थिए । उनले २६ बलमा चार छक्का र एक चौका प्रहार गरे । सुजन थपलियाले केवल ११ बलमा पाँच चौकाको मद्दतले २१ रन बटुलेका थिए । 

कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशी प्रदेशले अतिरिक्त रूपमा १३ रन पाएको थियो । आर्मी क्लबका बलर सोमपाल कामी र विवेक यादवले दुई—दुई विकेट लिए । जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले पनि एक—एक विकेट हात पारे । कोशी प्रदेशका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । 

समूह ‘डी’ मा दुई खेल खेलेको आर्मी क्लबले चार अंक जोडेको छ । यसअघि सोमबार खेलिएको खेलमा आर्मी क्लबले मदन भण्डारी स्पोर्टस् एकेडेमीको ‘निलो’ टोलीलाई एक सय १० रनको फराकिलो अन्तरले हराएको थियो । प्रतियोगिताअन्तर्गत बुधबार दुई पराजित टोली मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ र कोशी प्रदेशबिच खेल हुनेछ । उक्त खेलसँगै प्रतियोगिताको समूहगत चरण सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप