बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना : १४ हेक्टर वन क्षेत्र आवश्यक रहेको प्रतिवेदन मन्त्रालयमा

मङ्गलबार, १२ मङ्सिर २०८०, २१ : ०७
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले १४.९ हेक्टर जमिन आवश्यक रहेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) प्रस्ताव गरेको छ ।

प्राविधिक कारणले आयोजनाको सर्ज ट्याङ्कसँगै टेलरेसको स्थान परिवर्तन गर्नुपरेको र­ विद्युत उत्पादन क्षमता २८.६२ मेगावाटबाट बढाएर ३१.०७ मेगावाट पु¥याउन लागिएको भन्दै वन तथा वातावरण मन्त्रालयसँग थप वन क्षेत्र प्रस्ताव गरेको आयोजनाले जनाएको छ ।

वातावरण विज्ञ निशा वाल्मिकीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन टोलीले बुझाएको प्रतिवेदन अनुसार आयोजनाले वन क्षेत्रबाट ४६ वटा विभिन्न प्रजातिका रूख तथा लाथ्रा (८३ सिसौ, ३८ खयर, ५ दबदबे, ४ फडिल र सिन्दुरेका दुई) हटाउनु पर्ने जनाएको छ । जसबाट विभिन्न प्रजातिका दुई सय चार बिरुवाको क्षति हुनेछ ।

आयोजनाका लागि पहुँच सर्ज ट्याङ्क तथा टेलरेसको स्थानान्तरण, सडक निर्माण, डुबान तथा उत्खनन क्षेत्र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २, सुनकोशी गाउँपालिका वडा नम्बर ६ र ७, गोलन्जोर गाउँपालिकाको वडा नम्बर ७ तथा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ६ र खाँडदेवी गाउँपालिका वडा नम्बर ४ मा रहेका संरचना आवश्यक पर्दछ । आयोजना निर्माणका क्रममा बिपी राजमार्गको केही खण्ड डुबानमा पर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजमार्गको चार सय २५ मिटर डुबान क्षेत्रमा पर्ने भएकाले थप एक हजार ६२ मिटर नयाँ राजमार्ग बनाउनुपर्ने देखिएको आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि ४९.१ हेक्टर जग्गा अस्थायी रूपमा आवश्यक पर्ने उल्लेख गरिएको छ ।

आयोजनाले जनाए अनुसार समुन्द्र सतहदेखि चार सय ७६ मिटरमा तीन सय १२ हेक्टर जमिनमा जलाशय बन्नेछ । पोखरीको बाँध तथा सेडिमेन्टेसन पोखरी सुनकोशी गाउँपालिका वडा नम्बर ६ कानढुंग्रीमा रहनेछ । हेडरेस सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम)ले निर्माण भइरहेको आयोजनाले जनाएको छ । प्रतिवेदनमा जनाइए अनुसार २०८० असार मसान्तसम्ममा सात हजार ५०० मिटरको सुरुङ खनिएको छ । सुरुङको कुल लम्बाई १३.३ किलोमिटर छ ।

आयोजनाको लक्ष्य सुनकोशी नदीको पानी मरिन नदीमा फर्काएर बागमती सिँचाइ नहरको क्षमता बढाउने र फर्काइएको पानीबाट ३१.०७ मेगावाट बिजुली उत्पादन गर्नु हो । प्रतिवेदनमा जनाइए अनुसार आयोजनाबाट मधेस प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पु¥याउने उद्देश्य छ । यी जिल्लामा एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजनाको छ । जसबाट देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको आयोजनाले जनाएको छ ।

आयोजनाले तयार गरेको गुरूयोजना अनुसार १३.३ किलोमिटर सुरूङमार्फत् ६७ क्विक मिटर सेकेण्डले सुनकोशीको पानी मरिन नदीमा पु¥याइने छ । प्रतिवेदन अनुसार खुर्कोटबाट पानीलाई सुरूङमार्फत् सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ । त्यहाँको पानी मरिन नदी हुँदै बागमती नदीमा खसाली बागमती सिँचाइ आयोजनामार्फत करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य आयोजनाको छ ।

प्रतिवेदन अनुसार बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पु¥याइने छ ।

सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा एक सय ५८ मिटर लामो ड्याम बन्ने छ । प्रतिवेदन अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत गृह निर्माण गरी ४४ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गरिने छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत वर्षभरि नै एकैनास हुने प्रतिवेदनमा उल्लेख छ । आयोजनाबाट उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना आयोजनाको छ । आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप