सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो

शुक्रबार, १५ मङ्सिर २०८०, २२ : ५५
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ ।  जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । 

बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । 

आजसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए । उनका अनुसार आज निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ ।

 उनका अनुसार जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई रु आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।  

यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई रु ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि रु ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि रु एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ । 

अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप