शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

उपेन्द्र यादवको व्यस्तता, चार वर्षमा १० हजार प्रशिक्षक तयार गर्ने लक्ष्य

आइतबार, १७ मङ्सिर २०८०, ११ : ५८
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । हरेक पार्टीले २०८४ लाई लक्षित गरी आ–आफ्नो कार्यक्रम सञ्चालनलाई तीव्रता दिएका छन् । जनता समाजवादी पार्टी नेपालले पनि २०८४ लाई लक्षित गरी आफ्नो तीन महिने अभियानलाई निरन्तरता दिइरहेको छ । अभियानमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि निकै सक्रिय देखिन्छन् ।

तीन महिने अभियानमा पार्टीले संगठन निर्माण तथा पुनर्गठन गर्ने कार्य गर्नुको साथै प्रशिक्षण पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै प्रशिक्षणमा अध्यक्ष यादव आफैँ सहभागी हुँदै आइरहेका छन् ।

जसपाले प्रदेशदेखि जिल्लास्तरमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ । प्रायः सबै प्रशिक्षणमा अध्यक्ष यादव सहभागी हुँदै आएका छन् । सोही अनुसार आइतबार उनी बाँके जिल्लाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछन् । त्यसपछि लुम्बिनी प्रदेशले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा उनी सहभागी हुने जसपाले जनाएको छ ।

यसअघि मधेस प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशका साथै मधेसका धनुषा, महोत्तरी लगायतका जिल्लामा उनले प्रशिक्षण दिइसकेका छन् । उनले पार्टीको वैचारिक धारणा, देशको समसामयिक राजनीतिक अवस्था, राजनीतिक दलका तुलनात्मक अध्ययन, अन्तर्राष्ट्रिय अवस्थालगायतको विषयमा प्रशिक्षण दिने गरेका छन् ।

अध्यक्ष यादवले एउटा कार्यक्रममा ६ घण्टादेखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । उनले भने, ‘आठ घण्टामात्र होइन, मैले दिनभर पनि कुनै विषयवस्तुमा आफ्नो कुरा राख्न सक्छु, म मास्टरी गरेर आएको मान्छे हुँ, मलाई यसरी बोल्नमा कुनै गाह्रो लाग्दैन ।’

पछिल्लो समय प्रायः प्रत्येक दिन नेता तथा कार्यकर्तालाई कुनै न कुनै रुपमा प्रशिक्षण दिइरहेको र यसले राजनीतिक चेतनाको विकास भइरहेको आफूले पाएको अध्यक्ष यादवले बताए ।

यो चार वर्षमा १० हजार प्रशिक्षक तयार गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले जबसम्म राजनीतिक रुपमा नेता तथा कार्यकर्ता प्रशिक्षित हुँदैनन्, तबसम्म मधेसी, आदिवासी जनजाति, उत्पीडित समुदायले मुक्ति नपाउने बताए ।

हालसम्म आफूले १५ सयदेखि २ हजारलाई प्रशिक्षण दिइसकेको र यो क्रम आउने चुनावसम्म जारी रहने अध्यक्ष यादवले बताए ।

उनले भने, ‘मधेस मुक्तिका लागि अर्को संघर्ष गर्न यो तयारी भइरहेको छ, राज्यले मधेससँग धोकाधडी गरेको छ । त्यसका लागि संघर्ष गर्न म आफैँ तयारीमा लागेको छु ।’

मधेसमा राजनीतिक चेतनाको कमीका कारण पटकपटक भएको आन्दोलनले लक्ष्य हासिल नगर्दै समाप्त भएको उनको भनाइ छ । त्यसैले यसपटक सुरुमा नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने, देश–विदेशको राजनीतिक अवस्था तथा वैचारिक रुपमा बलियो बनाएर संघर्षमा जाने तयारी भइरहेको उनले बताए ।

हालसम्म आफूले १५ सयदेखि २ हजारलाई प्रशिक्षण दिइसकेको र यो क्रम आउने चुनावसम्म जारी रहने अध्यक्ष यादवले बताए ।

तीन महिने अभियानको क्रममा जसपाले पार्टीको नयाँ विधान अनुसार मधेस प्रदेशबाहेक अन्य प्रदेशको समिति र राष्ट्रिय समितिहरु पुनर्गठन गरेको छ । जिल्ला र पालिका समितिलाई पुनर्गठन गर्नका लागि नै तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । तीन महिने अभियान कात्तिकमा सकिए पनि त्यसलाई निरन्रता दिने भनेर जसपाले कार्यक्रमहरु जारी नै राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप