अझै तोकिएन उखु र गहुँको समर्थन मूल्य
बुधबार, २० मङ्सिर २०८०, १३ : ५३

काठमाडौँ । उखु र गहुँको समर्थन मूल्य अझै निर्धारण हुन सकेको छैन । उखु र गहुँको समर्थन मूल्यको विषयमा छलफल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटी अर्यालले जानकारी दिइन् ।
कृषि विभागबाट उखु र गहुँको समर्थन मूल्य निर्धारणका लागि प्रतिवेदन मन्त्रालयमा पठाइसकिएको छ । उखु र गहुँको समर्थन मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको उनले बताइन् ।
मूल्य सर्वसम्मत भएपछि सार्वजनिक गरिने अर्यालले जनाइन् । गत वर्ष सरकारले प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । देशभर ७ लाख हेक्टर क्षेत्रफलमा २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।