बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एआईलाई नियमन गर्ने कानुनमा सहमत भयो ईयू

आइतबार, २४ मङ्सिर २०८०, १४ : ०८
आइतबार, २४ मङ्सिर २०८०

ब्रसेल्स । युरोपेली संघ (ईयू)का नीति निर्माताहरूले कृत्रिम बौद्धिकता (एआई)लाई नियमन गर्ने ऐतिहासिक कानुनमा सहमति गरेका छन् । शनिबार ईयूको संसदमा एआईसम्बन्धी ऐतिहासिक ‘प्रोभिजनल’ सम्झौता भएको छ । कानुन निर्माता र नीति निर्माताबीच ३८ घण्टासम्मको छलफलपछि यो सहमति जुटेको हो ।

ईयूको महत्त्वाकाङ्क्षी एआई एक्टलाई प्रयोगकर्ता र अन्यलाई एआईले पुर्‍याउन सक्ने क्षति नियन्त्रित गर्ने तर्फ विश्वको पहिलो बृहत् कानुन बताइएको छ । आम मानिस र व्यवसायहरूको सुरक्षा र आधारभूत अधिकारका लागि यो सहमति गरिएको ईयूकी प्रमुखले भनेकी छिन् । गएको वर्ष ओपनएआईले च्याट जीपीटी ल्याएयता नै एआई ऐन पारित गर्ने प्रयास तीव्र पारिएको थियो । यो कानूनले विश्वभर एआई नियमनमा नजिरको काम गर्ने आशा गरिएको छ ।

यसले एआईको सम्भावित लाभहरूलाई बढाएर गलत सूचना प्रवाह र रोजगारी विस्थापनदेखि प्रतिलिपि अधिकार उल्लंघनसममका जोखिमविरुद्ध सुरक्षा दिने अपेक्षा छ । यो नियमन ल्याउनुको उद्देश्य नवप्रवर्तनलाई प्रोत्साहन दिने र यूरोपलाई एआईको क्षेत्रमा लिडर बनाउनुको साथसाथै मौलिक अधिकार, लोकतन्त्र, कानुनको शासन आदिलाई एआईबाट सुरक्षित राख्नु भएको पनि बताइएको छ । यो कानुन अब ईयूका सदस्य देशहरूले पारित गर्नु पर्नेछ । त्यसपछि ईयूको संसदले पनि यसमा मोहर लगाउनु पर्नेछ ।

यो कानुन अन्तर्गत ईयूमा व्यवसाय गर्ने प्रविधि कम्पनीहरूले एआई सिस्टमलाई तालिम दिन प्रयोग गरिएको डेटा र स्वचालित सवारी साधन अनि स्वास्थ्योपचार जस्ता क्षेत्रमा प्रयोग गरिने परीक्षणबारे खुलासा गर्नु पर्नेछ । यसले फेशियल रिकग्निशन डेटाबेस बनाउन इन्टरनेट वा सेक्युरिटी फुटेजबाट लिइएको तस्बिर को प्रयोगमा बन्देज लगाएको छ । तर आतङ्कवाद र गम्भीर खालको अपराधसम्बन्धी मामिलामा छानबिन गर्न रियल–टाइम फेशियल रिकग्निशन प्रयोग गर्ने छूट छ ।

यस कानुनको उल्लङ्घन गर्ने प्रविधि कम्पनीले उल्लंघनको प्रकार र कम्पनीको आकार अनुसार विश्वभरबाट हुने आम्दानीको ७ प्रतिशतसम्म जरिवाना तिर्नु पर्नेछ । इयूको यो कानुन एआईलाई नियमन गर्ने अहिलेसम्मकै बृहत् प्रयास हो । एआईले राष्ट्रिय सुरक्षा र पूर्वाग्रहमा पार्ने असरमा केन्द्रित रहेर अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा एउटा कार्यकारी आदेश जारी गरेका थिए । चीनले समाजको मुख्य मूल्य मान्यतामा झल्किने गी एआईको नियमन सुरु गरेका छ । बेलायत र जापानले पनि नियमनको लागि निकै चासो देखाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप