शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लोसपाभित्र विवाद

घर घर गएर किन हस्ताक्षर गराउन थाले महन्थ ठाकुर ?

बुधबार, २७ मङ्सिर २०८०, १२ : ३३
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मङ्सिर २४ गते बसेको बैठकमा केन्द्रीय सदस्यहरूको बहुमत नपुगेपछि अध्यक्ष महन्थ ठाकुर नेताको घरघर गएर हस्ताक्षर गराइ रहेका छन् । काठमाडौँमा बसेको बैठकमा ३११ केन्द्रीय सदस्यमध्ये १३० जनाको मात्र उपस्थिति थियो ।

बैठकमा केन्द्रीय समिति सदस्यमध्ये ५० प्रतिशतको उपस्थिति हुनुपर्छ । २५ जना अझै अपुग भएपछि पार्टीका केन्द्रीय कार्यालय सचिव प्रदीप पाठक काठमाडौँलगायत विभिन्न ठाउँमा रहेका नेताहरूका घरमा गएर हस्ताक्षर गराइरहेको स्रोतले जनाएको छ ।

पाठक जनकपुर र महोत्तरी जाने तयारीमा पनि छन् । काठमाडौँमै रहेका केही नेताहरूसँग उनले हस्ताक्षर गराइसकेका छन् । त्यसले पनि नपुगेपछि उनी उपत्यका बाहिर गएका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुरा नमिलेपछि सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र अनिलकुमार झाले केन्द्रीय समितिको बैठक बहिष्कार गरेका थिए । बैठक बहिष्कार गरेपछि उनी निकट कतिपय नेताहरू बैठकमा गएनन् भने अन्य केही नेताहरू व्यस्तताका कारण उपस्थित भएनन् । राष्ट्रियसभा निर्वाचनमा पार्टी दर्ता गराउने प्रयोजनका लागि पार्टीको निर्णय आवश्यक हुन्छ  । त्यसका लागि बैठकमा बहुमत सदस्यको हस्ताक्षर आवश्यक हुन्छ । सोही कारण घरघरमा गएर हस्ताक्षर गराउन थालिएको सो पार्टी निकट श्रोतले जनाएको छ ।

यता, वरिष्ठ नेता महतोले पनि पार्टीमै बस्ने कि अलग हुने भन्ने विषयमा आफ्ना निकट नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । महतोले आफ्ना नेताहरूसँगको भेटघाटलाई  तीव्रता दिएका कारण पनि अध्यक्ष ठाकुरले हस्ताक्षर अभियानलाई तीव्रता दिएको स्रोतको दाबी छ ।

नेता महतोनिकट एक नेताले भने, ‘निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यकै हस्ताक्षर आवश्यक पर्दैन, कार्यकारिणी समितिको निर्णय पनि दिए हुन्छ तर महतोजीले बैठक बहिष्कार गरेपछि डराउनु भएका ठाकुरजीले आफ्नो पक्ष बलियो बनाउनका लागि हस्ताक्षर सङ्कलन गर्न लागेको मलाई लागेको छ ।’ महतोले पार्टी विभाजन गर्ने बेला अध्यक्ष ठाकुरले यो हस्ताक्षर प्रयोग गर्न सक्ने अवस्था रहेको ती नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप