शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान

शनिबार, ३० मङ्सिर २०८०, १९ : ४३
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । शम्भु–निर्मला कला–साहित्य समाजले  लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसाललाई यस वर्षको शम्भु–निर्मला विशिष्ट साधक सम्मान प्रदान गरेको छ ।

समाजका पदाधिकारीले अनामनगरस्थित रिसालकै घरमै पुगेर उनलाई रु २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । समाजद्वारा वरिष्ठ श्रष्टा एवं सङ्गीतकार शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसका अवरमा आज यहाँ आयोजित कार्यक्रममा ‘स्मृतिविम्बमा शम्भुकुमार मिलन’ स्मृतिग्रन्थ विमोचन गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँला र पूर्वसभामुख दमननाथ ढुङ्गानासहित वरिष्ठ साहित्यकारले उक्त कृति लोकार्पण गरेका हुन् । नेपाली साहित्य र कला क्षेत्रका सम्मानित व्यक्तित्व मिलनले साहित्य, गीत, सङ्गीत, शिक्षा र प्राज्ञिक क्षेत्रमा अतुलनीय योगदान दिएका छन् ।

उनको स्मृतिमा प्रकाशित कृतिका संस्मरण भागमा ३१ जना, पारिवारिक स्मृति भागमा १७ जना र  समालोचना भागमा १९ जना श्रष्टाका लेख, रचना र विचार समावेश छन् ।

विसं २००६ मङ्सिर ५ गते काठमाडौँ बत्तीसपुतलीमा जन्मिएका मिलनको  विसं २०७७ कात्तिक १५ गते कोरोनाका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । बाल कार्यक्रममार्फत ६ वर्षको उमेरमा रेडियो नेपालमा प्रवेश गरेका मिलन रेडियो नेपालमार्फत नै लामो समय राष्ट्रसेवामा समर्पित भए । उनका एक दर्जनभन्दा बढी गीत, कविता, गजल, नियात्रासम्बन्धी कृति प्रकाशित छन् ।

कार्यक्रममा मिलनको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन  विषयका शोधार्थी सावित्रादेवी शर्मालाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्वउपकुलपति काइँलाले साहित्य, सङ्गीत र गायन क्षेत्रमा मिलन नमूनाका रूपमा रहनुभएको स्मरण गरे ।

लगानशील र उत्साहित व्यक्तिका लागि उनी प्रेरणाका स्रोत रहेका उल्लेख गर्दै वरिष्ठ साहित्यकार काइँलाले हिम्मतिलो र आत्मविश्वासले मिलनलाई आफ्नो क्षेत्रमा शिखरमा पुर्‍याएको धारणा राखे ।

पूर्वसभामुख ढुङ्गानाले गीत–सङ्गीत क्षेत्रका ठूला साधक मिलनलाई अन्तर्यामी व्यक्तित्वका रूपमा जानेबुझेको बताए । उनले राष्ट्रिय प्रतिष्ठानको अभावमा विभिन्न श्रष्टाका परिवारले प्रतिष्ठान चलाउन बाध्य भएको अवस्थालाई विचार पुर्‍याउन सरकारलाई सुझाव दिए ।

समाजका संरक्षक निर्मला रेग्मी, अध्यक्ष प्राडा देवी नेपाल, कोषाध्यक्ष सिर्जना रेग्मी, वरिष्ठ समालोचक डा.गणेश भट्टराई, वरिष्ठ पत्रकार विजय चालिसे, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङलगायतले श्रष्टा मिलनको साहित्य र सङ्गीत साधनाको व्यक्तित्वबारे चर्चा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप