सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल अक्सन : चेन्नईले एक करोड ८० लाखमा किन्यो न्युजिल्यान्डका रचिन रवीन्द्रलाई

मङ्गलबार, ०३ पुस २०८०, १४ : ३७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्रलाई चेन्नई सुपर किङ्सले खरिद गरेको छ । चेन्नईले उनलाई एक करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

न्युजिल्यान्डका अलराउन्डर युवा खेलाडी हुन्, उनी । प्रभावशाली बायाँहाते ब्याट्सम्यान रचिन स्पिन बलर पनि हुन् । हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यही विश्वकमार्फत नै उनी चर्चामा आएका हुन् । 

एकदिवसीय विश्वकपमा उनले तीन सतक प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका उनले विश्वकपमा कुल पाँच सय ७८ रन बनाएका थिए । २४ वर्षीय रचिन विश्वकपमा तिब्रगतिका बलर र स्पिन बलर दुबैविरुद्ध प्रभावशाली देखिएका थिए । उनले विश्वकपमा ६४.२२ को औसतले रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि रचिनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले आफ्नो देशका लागि खेलेको पछिल्ला १८ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा एक सय १८ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । रचिन पहिलो पटक आईपीएलको अक्सनमा सहभागी भएका हुन् ।

हालसम्म ५३ वटा टी–२० खेलेका उनले एक सय २३ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । अक्सनमा रचिनको नाम सेट–२ मा परेको थियो । किविज टोलीका यी अलराउन्डर खेलाडीले आफ्नो न्यूनतम मूल्य ५० लाख रुपैयाँ राखेका थिए । उनले यसअघि आईपीएल खेलेका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप