मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश चलाउन ५ खर्व चाहिन्छ, आम्दानी ५ अर्व मात्रै छः मुख्यमन्त्री पाण्डे

बुधबार, ०४ पुस २०८०, ०७ : १४
बुधबार, ०४ पुस २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोत अभावका कारण जनताका अपेक्षा हुबहु पूरा गर्न नसकेको बताएका छन् । गण्डकी प्रदेशको कांग्रेस सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश चलाउन वर्षेनी ५ खर्व भन्दा बढी बजेट आवश्यक पर्ने बताए । 

‘प्रदेशलाई चलाउन ५ खर्व रुपैयाँ चाहिन्छ । तर आम्दानी ५ अर्व छ,’ उनले भने, ‘हाम्रा आकांक्षा धेरै छन् । स्रोत सीमित छन् । केवल गण्डकीको मात्रै होइन, समग्र देशको अवस्था यही छ ।’ संघले गरेको गल्तीका कारण प्रदेश संरचनाहरुले गाली खाने अवस्था बनेको उनको तर्क छ ।

‘प्रदेशलाई आवश्यक कानुन बनाइदिनुस् भनेर पटक पटक भनेका छौं । संघीय निजामति ऐन, प्रहरी समायोजन, जग्गा प्राप्ती, शिक्षा ऐन लगायत कानून बनाउन सकिँदैन भने प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न सक्दैन,’ उनले भने, ‘तपाईंहरुले काम नगर्ने अनि सबैभन्दा गाली मैले खाइरहेको छु, सभापति ज्यू तपाईंलाई साक्षी राखेर भन्छुः यो जिम्मेवारी कसको हो ? यो कानून कसले बनाउने हो ? तपाईंहरुले कानून नबनाउने, अनि गाली हामीले खानुपर्ने ? यो जिम्मेवारी तपाईंले लिने कि नलिने ?’

संविधानमा लेखिएकै कारण मात्र संघीय व्यवस्था सञ्चालन गरेको भए पुनः विचार हुनुपर्ने उनको भनाई छ । ‘सबैभन्दा ठूलो प्रहार प्रदेशमाथि छ । असल अभ्यास गर्ने हो भने नराम्रो व्यवस्था होइन । बजेट बनाउने क्रममा हरेक दिन १५–२० हजार मान्छेसँग भेटें । मेरो लागि यो आवश्यक्ता छ, बजेट दिनुस् भन्नुभयो । संघीयता हुँदैनथ्यो भने, मसँग जसरी छलफल गर्नुभयो त्यो सम्भव थिएन,’ उनी अघि भन्छन्, ‘सिंह दरबार गाउँ–गाउँमा पु¥याउने भन्नुभयो, संविधानमा लेखेका कारणले मात्रै मानेका छौं कि साँच्चै संघीयता लागू गर्न दृढतापुर्वक उभिएका छौं ? यदी दृढतापुर्वक उभिएको हो भने तत्कालै कानून बनाइयोस् ।’

उनले शीर्ष नेतृत्वले संघीयताप्रति दृष्टीकोण सार्वजनिक गर्नुपर्ने दवाव दिएका छन् । ‘यदी यसैगरी चलिरहने हो भने संघीयता खारेज गर्छौं भने हुन्छ । यही अवस्थाबाट धेरै पर जान सक्दैन,’ उनले भने । पाण्डेले एक्लै चुनाव लड्न सक्ने पार्टी निर्माणका लागि सबैसँग आह्वान गरेका छन् । उनले सरकार सञ्चालन गरेको ८ महिनासम्म एउटा पनि शीर झुकाउने काम नगरेको र आगामी दिनमा पनि क्लिन भएर निस्किने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप