सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

नेपाली अभिनेत्रीको व्यस्तता : विदेश यात्रादेखि नाटकसम्म

कोही आफैँ फिल्म निर्माणमा सक्रिय, कोही बेरोजगार
बुधबार, ०४ पुस २०८०, १० : ३७
बुधबार, ०४ पुस २०८०

काठमाडौंँ । पछिल्लो समय नेपाली फिल्म क्रियाशील दुई दर्जनभन्दा बढी अभिनेत्री छन् । तै पनि यो क्षेत्रमा नायिकाको अभाव नै बताइन्छ । निर्माता निर्देशकको खोज सधैँ नव नायिकाको हुने गर्छ ।

नायिकाको कारण फिल्म चलेका कमै उदाहरण छन् । नायिकामा भित्रिनेको संख्या पनि बढ्दो छ । चर्चा र सफलता थोरैको भए पनि काममा व्यस्तता सबैजसोको देख्न सकिन्छ । अभिनेताको तुलनामा अभिनेत्रीहरु नै व्यस्त छन् ।

फिल्म, म्युजिक भिडियोदेखि, विज्ञापनसम्ममा उनीहरुको सक्रियता छ । कोही नाटक अभिनयका लागि रिहलसलमा जुट्दा कोही भने बेरोजगार छन् । नेपाली फिल्म क्षेत्रका दर्जन अभिनेत्री को–के गर्दैछन् भन्नेबारे यहाँ चर्चा गर्न खोजिएको छ ।

स्वस्तिमा खड्का- अभिनेत्री स्वस्तिामा केही समय यता अष्ट्रेलिया छिन् । फिल्म ‘दिमाग खराब’ प्रदर्शनका लागि उनी त्यहाँ पुगेकी हुन् । पछिल्लो समय व्यस्त रहेकी उनको यो वर्ष ‘ऐँचो पैँचो, ‘पशुपति प्रसाद २- भष्मे डन’ र दिमाग खराब’ रिलिज भयो । तीन चलचित्र मध्ये दुई सफल भए । उनी एक महिना अष्ट्रेलियामै व्यस्त रहनेछिन् । त्यसपछि उनले अभिनेता प्रदीप खड्कासँग फिल्म ‘एक्टर’मा अभिनय गर्ने चर्चा छ ।

जसिता गुरुङ- अभिनेत्री जसिता गुरुङ अहिले फिल्म ‘फर्की फर्की’को छायाङ्कनमा व्यस्त छिन् । करिब एक महिना अगाडि सुरु भएको फिल्मको छायाङ्कन अझै एक महिना चल्ने बताइन्छ । यस अगाडि उनको ‘ज्याकीः आई एम ट्वान्टी वान’ आएको थियो । फिल्मले बक्स अफिसमा राम्रै व्यवसाय गर्‍यो । जसिताको माघमा फिल्म ‘हनी बनी’ रिलिज हुँदैछ ।

प्रियंका कार्की- अभिनेत्री प्रियंका कार्की पछिल्लो समय कमेडी रियालटी शो ‘मुन्द्रे कमेडी क्लब’मा अध्यक्षको जिम्मेवारीमा छिन् । त्यसको अलावा उनी म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी छन् । गत वर्ष रिलिज भएको ‘फुलबारी’पछि उनले कुनै फिल्ममा अभिनय गरेकी छैनन् ।

उनी यतिबेला दुई फिल्म अभिनय र निर्माणको तयारीमा छन् । जस्तो पायो त्यस्तै फिल्म गर्नुभन्दा पनि अर्थपूर्ण फिल्म गर्न निर्माण सहकार्यमा समेत होमिन लागेको उनले सुनाइन् ।

वर्षा सिवाकोटी- अभिनेत्री वर्षा सिवाकोटी फिल्म ‘काजी’मा अभिनयको तयारीमा छिन् । फिल्मको माघबाट छायाङ्कन सुरु हुँदैछ । यस अगाडि उनको फिल्म ‘परदेशी २’ रिलिज भएको थियो । फिल्मले प्रदर्शनको ५१ औँ दिन पार गरेको उपलक्ष्यमा निर्माण टिमले केक समेत काटिसकेको छ । गत शुक्रबार रिलिज भएको फिल्म ‘दुई कदममा’को एक गीतमा उनले आइटम गरेकी छन् । जसको चर्चा अहिले फिल्मी बजारमा छ । केही फिल्मका लागि उनलाई अफर पनि आएका छन् । तर फाइनल नभएकाले उनले नाम लिन चाहिनन् ।

मिरुना मगर- मिरुना मगर पछिल्लो समयकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् । मगरको यो वर्ष ‘जारी’ र ‘नाङ्गो गाउँ’ रिलिज भएको थियो । दुवै हिट भयो । उनको हातमा अहिले धेरै फिल्म छन् । मिरुना फिल्म ‘रंगेली’को छायाङ्कनमा व्यस्त छिन् । उनको फिल्म ‘हात्तीछाप’ रिलिजको तयारीमा छ । उनी विपिन कार्कीसँग फिल्म ‘उनको स्विटर’को छायाङ्कन तयारीमा पनि छन् ।

मलिका महत- अभिनेत्री मलिका महत पछिल्लो समय फिल्म ‘सतीदेवी’ र ‘अगस्त्य’ मा काम गरेकी छन् । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ प्रदर्शनको तयारीमा छ । ‘अगस्त्य’ पनि छायाङ्कनको अन्तिम चरणमा छ । यस अगाडि उनी ‘यात्रा’ र ‘पानी फोटो’मा देखिएकी थिइन् । उनी अहिले मण्डला थियटरको नाटक ‘पगला घोडा’मा अभिनयको तयारीमा छिन् । यही १२ गतेबाट नाटक मञ्चन हुँदैछ । जसको रिहलसलमा उनी लागिपरेकी छन् ।

सृष्टि श्रेष्ठ- अभिनेत्री सृष्टि श्रेष्ठ अहिले फिल्म ११ः५५ मा अभिनयरत छिन् । केही अगाडि एक कार्यक्रमसहित घोषणा भएको फिल्मको अहिले काठमाडौँको रानीबारीमा छायाङ्कन भइरहेको छ । सृष्टिको यस अगाडि ‘राधा’ फिल्म आएको थियो । अभिनेता सौगात मल्लसँगको प्रेम र ब्रेकअपको कारण केही समय हराएकी सृष्टि अहिले फेरि अभिनयमा फर्किएकी हुन् ।

आँचल शर्मा- अभिनेत्री आँचल शर्मा फिल्म ‘डिग्री माइला’ छायाङ्कनमा व्यस्त छिन् । फिल्मको छायाङ्कन ब्रेक भएको समय फिलिपिन्स भ्रमणमा समेत उनी पुगेकी थिइन् । उनको यस अगाडि फिल्म ‘नाई नभन्नु ल ६’ रिलिज भएको थियो । फिल्म फ्लप भयो । फिल्मको असफलताले खासै उनको करियरमा असर परेको छैन । उनी ‘डिग्री माइला’, ‘राजामहल’को छायाङ्कनमा व्यस्त हुनेछिन् ।

केकी अधिकारी- अभिनेत्री केकी अधिकारी अहिले फिल्म ‘बोक्सीको घर’ रिलिजको तयारीमा छिन् । यो फिल्म उनी आफैँले निर्माण गरेकी हुन् । यसको प्रचार प्रसारमा पनि लाग्नु पर्ने भएकाले उनको हातमा अहिले तत्काल अभिनय गर्नुपर्ने कुनै पनि फिल्म छैन । उनको पछिल्लो फिल्म ‘परदेशी २’ ले प्रदर्शनको ५१औँ दिन पार गरेको उपलक्ष्यमा निर्माण टिमले केक समेत काटिसकेको छ । यो भन्दा अगाडि उनको ‘प्रसाद २’ र ‘जय हो’ आएको थियो ।

ऋचा शर्मा- अभिनेत्री ऋचा शर्मा यतिबेला बेडरेष्टमा छिन् । उनले केही अगाडि थाइराडको सर्जरी गराएको कारण रेष्टमा रहेकी हुन् । उनी रियालटी शो कमेडी च्याम्पियन जजको तयारीमा छिन् । जसमा उनी पहिले पनि जज थिइन् । यसको अलावा एक फिल्ममा अभिनयको तयारीमा रहेकी उनले फिल्मको नाम अहिले गोप्य राख्ने निर्माण युनिटको योजना रहेको बताइन् ।

वर्षा राउत- अभिनेत्री वर्षा राउत यतिबेला फिल्म ‘महाजात्रा’ छायाङ्कनमा व्यस्त छिन् । यसको अलावा उनको म्युजिक भिडियो र अन्य प्रोजेक्टको काम पनि चलिरहेको छ । उनको यो वर्ष एउटा पनि फिल्म आएको छैन । गत वर्ष भने ‘के घर के डेरा’ रिलिज भएको थियो । ‘महाजात्रा’पछि उनले शंकर घिमिरेको ‘तेल भिसा’मा अभिनय गर्नेछिन् । योसँगै उनी केही ब्रान्डको प्रमोशन पनि गरिरहेकी छिन् ।

पूजा शर्मा-  केही फिल्मको लगातार असफलतापछि केही समय काम बिहीन भएकी पूजाले ललितपुरको झम्सीखेलमा ‘ट्याग रेष्टुरेण्ट’ सञ्चालन गरिरहेकी छन् । उनको अभिनय रहेको फिल्म ‘उपहार’ प्रदर्शनको तयारीमा छ भने उनी फिल्म ‘दान्भी’मा अभिनय गरिरहेकी छन् । केही म्युजिक भिडियोका काम समेत उनले गरिरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप