सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कैद भुक्तान सकिने दिन कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

सोमबार, ०९ पुस २०८०, ०९ : ३४
सोमबार, ०९ पुस २०८०

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ः ३० बजे  अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् । 

सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।  अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो । 

आज बिहानसम्म मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।  

मोरङ कारागारमा केही दिन अगाडि एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शङ्कास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए । पछि जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेर छानबिन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप